नेपाल र पाकिस्तानबीच आपसी हितका नयाँ क्षेत्र पहिल्याउन उपप्रमको आग्रह

काठमाडौं, ३० भदौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई समयको गतिसँगै निरन्तरता दिन तथा आपसी हित र सहयोगका नयाँ क्षेत्र पहिल्याउँदै अघि बढ्न आवश्यक रहेकामा जोड दिए । नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका पाकिस्तानका राजदूत डा मझर जावेदसँग आज सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिष्टाचार भेटका क्रममा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीच औपचारिक दौत्य सम्बन्ध स्थापना भएको समयदेखि हालसम्म असल र मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै यो सम्बन्ध सरकार र सरकारबीचमा मात्र सीमित नभएर जनस्तरमा समेत प्रगाढ रहेको विचार व्यक्त गरे।

उनले पाकिस्तानले चिकित्साशास्त्र अध्ययन, सैनिक तालीम तथा प्रशिक्षण जस्ता क्षेत्रमा नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गरे । रक्षामन्त्री पोखरेलले पाकिस्तानका उद्यमी एवं व्यवसायीलाई नेपालको कृषि, पर्यटन, उद्योग, जलविद्युत्लगायत क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गरे ।

भेटका अवसरमा राजदूत जावेदले नेपाल र पाकिस्तानबीच असल कूटनीतिक सम्बन्ध रहेको जनाउँदै आफ्नो नेपाल बसाइका अवधिमा नेपाल र पाकिस्तानबीच शिक्षा, व्यापार, पर्यटन, उद्योग, कृषिलगायत क्षेत्रमा सहयोग प्रबद्र्धन गरी दुई देशबीचको सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन सक्दो प्रयास गरेको बताए । दुई देशका सेनाबीच समेत असल र मैत्रीपूर्ण सम्बन्ध रहेको स्मरण गर्दै उनले तालीम, प्रशिक्षण तथा उच्चस्तरीय भ्रमणमार्फत दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगिरहेको विचार व्यक्त गरे । उनले चिकित्साशास्त्र अध्ययन, तालीम, प्रशिक्षणलगायत विषयमा नेपालले आवश्यक ठानेका विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउन पाकिस्तान सरकार सकारात्मक रहेको विचार व्यक्त गरेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board