आजबाट उपत्यकामा ब्यापार ब्यवसाय सुचारु

काठमाडौं, १ असोज । काठमाडौं उपत्यकामा आजदेखि बार अनुसार पसल खोल्ने व्यवस्था हटाइएको छ । आजदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । यसअघि भदौ २४ मा काठमाडौं उपत्यकाभित्र बार अनुसार व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको थियो ।

तर कतिपय व्यवसायीले सो व्यवस्था व्यावहारिक नभएको भन्दै अवज्ञा गर्दै आएका थिए । बार अनुसार पसल खोल्ने व्यवस्था हटाएपछि आजबाट उपत्यकाका व्यापार व्यवसाय सुचारु भएका छन् । उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भने यथावत नै राखिएको प्रशासनले जनाएको छ । खुला स्थानमा भिडभाड गर्न भने निषेध नै गरिएको छ । काठमाडौं प्रशासनले हिजो सूचना जारी गर्दै खुला स्थानमा मानिस जम्मा हुन, भिडभाड गर्न वा सभा, जुलुस गर्न निषेध गरिएको भनेको छ ।

जात्रा, महोत्सव, भोज गर्न पनि निषेध गरिएको छ । मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा नृत्य पूजाबाहेकका गतिविधि सञ्चालन गर्न पनि दिइएको छैन । बढी भिडभाड हुने उद्योग, व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, चाडपर्व लगायतका धार्मिक, सामाजिक र सांस्कृतिक कार्य गर्दा जमघट गर्न र शैक्षिक संस्था सञ्चालन गर्न पनि रोकिएको छ । सबै प्रकारका सेमिनार गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीड हुने क्षेत्रलाई पूर्ण रुपमा निषेध गरिएको छ । त्यसबाहेक अन्य सेवा सुचारु रहने जनाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board