‘एमसीसी सम्झौता संसदबाट अनुमोदन हुन्छ’

बुटवल, २ असोज । परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले ‘बहुचर्चित र बहुविवादित’ एमसीसी सम्झौता संसदबाट अनुमोदन हुने बताएका छन् । प्रेस संगठन नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले एमसीसीका विषयमा रहेका केही प्रश्नको उत्तर खोजेर एमसीसी अनुमोदन हुने बताए ।

मन्त्री ज्ञवालीले पार्टीको स्थायी समितिमा एमसीसीमा के के सच्याउने भन्ने एजेन्डा नउठेको दाबी गर्दै पार्टीमा उठेका हरेक प्रश्नको उत्तर खोज्दै आवश्यक परे सच्चाएर एमसीसी अनुमोदन हुने स्पष्ट पारे । नेपालको सम्पूर्ण भुगोललाई समेटेर नयाँ नक्शा जारी गरिएको बताउँदै मन्त्री ज्ञवालीले खोसिएको भुभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि नेपालीहरुमा थप उर्जा थपिएको बताए । उनले कुटनीतिक सम्वाद र छलफलबाटै सीमा समस्याको समाधान गर्ने विश्वास समेत ब्यक्त गर्नु व्यक्त गरे ।

उनले नेपालले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता हुने विश्वास व्यक्त गरे । कालापानी पश्चिममा रहेका नेपालीसँग कसरी सम्पर्क गर्ने भन्नेबारे सोधिएको एक प्रश्नमा ज्ञवालीले भारतीय सेना हटेर नेपाललाई आफ्नो भूभाग उपभोग गर्न दिनुपर्ने बताए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञवालीले निश्चित प्रयोजनका लागि वर्षौपहिले बसेका भारतीय सेना अब हट्नुपर्ने बताउँदै नेपाललाई आफ्नो भुभाग उपयोग गर्न भारतले दिनुपर्ने स्पष्ट पारे ।

पार्टी फुट्छ की भन्ने भयले स्थिरता चाहनेहरु चिन्तामा परेको बताउंदै उनले अहिले पार्टी पुरानै एकताको अवस्थामा पुगेको दाबी समेत गरे । गृह जिल्ला गुल्मी पुगेर काठमाडौ फर्कने क्रममा मन्त्री ज्ञवालीले बुटवलमा पत्रकार भेटघाट गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board