आइपीएल : हैदराबादको दोस्रो हार , कोलकाताको पहिलो जित

काठमाडौं ११ असोज ।  कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।

अबुधाबीमा शनिबार राति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो ।

शेख जायद स्टेडियममा हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

कोलकत्ताको जितमा शुभमन गिलले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इयान मोर्गनले अविजित ४२ रन बनाए ।

नितिस रानाले २६ रन जोड्दा कप्तान दिनेश कार्तिक र सुनिल नारिन खाता नखोल्दै पेभेलियन फर्किए । हैदराबादका खलिल अहमेद, राशिद खान र टी नटराजनले १/१ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । हैदराबादका लागि मनिस पाण्डेले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।यस्तै कप्तान डेभिड वार्नरले ३६ रन जोड्दा जोनी बेयर्स्टो ५ रनमा आउट भए ।

रिद्धिमान शाहले ३० तथा मोहमद नाबीले अविजित ११ रन बनाए ।कोलकत्ताका पाट कुमिन्स, भरुण चक्रवर्ती र आन्द्रे रसेलले १/१ विकेट लिए ।जितसँगै कोलकत्ताले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा कोलकत्ता मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो ।

हैदराबादको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board