तीन अध्यादेश: एसिड आक्रमण गर्नेलाई अब जन्मकैद

काठमाडौं, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड लगायत तीन अध्यादेश जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा एसिडलगायतका तीन अध्यादेश राष्ट्रपति भण्डारीले हिजो जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी भएको हो ।

सरकारले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याएको हो । एसिड छ्याप्ने दोषीलाई २० वर्ष जेल सजाय र पीडितलाई पीडकबाटै मनासिब क्षतिपूर्तिको कडा व्यवस्थासहित सरकारले अध्यादेश ल्याएको छ । मुलुकी अपराध संहितामा एसिड छ्याप्नेविरुद्ध कारबाहीको व्यवस्था रहे पनि अपर्याप्त भएको भन्दै संशोधनसहित कडा सजाय तोकेर नयाँ कानुन ल्याइको हो ।

अध्यादेशले एसिड प्रहारबाट अंगभंग भए क्षतिको मात्राअनुसार अपराधी १० देखि २० वर्षसम्म कैदमा बस्नुपर्ने व्यवस्था गरेको छ । पीडितको मृत्यु भए सर्वस्वसहित जन्मकैदको सजाय र पीडितलाई क्षतिपूर्ति व्यहोनुपर्नेछ । अंगभंग गर्ने मनसायले आक्रमण प्रयास गरे पनि १० वर्षसम्म कैद सजाय हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा परेका पीडितसँगको छलफलका क्रममा दोषीलाई कडा प्रावधानसहित चाँडै नयाँ कानुन ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो । मुलुकी अपराध संहिता ऐनमा एसिड प्रहारबाट कसैको मृत्यु भए जन्मकैद, घाइते एवं अंगभंग भए ८ वर्षसम्म कैदको व्यवस्था छ ।

नयाँ व्यवस्थाअनुसार एसिड प्रहारसम्बन्धी कसुरमा दोषीउपर ज्यान मार्ने उद्योगअन्तर्गत सजायको किटानसमेत गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी मस्यौदालाई पारित गर्दै स्वीकृतिका लागि राष्ट्रपतिकहा“ पठाउने निर्णय गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board