खोटाङमा सामाजिक सुरक्षा भत्ताको चरम दुरुपयोग

खोटाङ, २० असोज । साकेला गाउँपालिका–५ मात्तिम ठेगाना उल्लेख भएकी तीन जना फुलसरी राईको नाममा वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझिएको छ । एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी तीनै जना फुलसरी राई सो वडामै छैनन् । अहिलेको उमेर ७१ वर्ष खुलाएर नियमित भत्ता बुझ्दै आएको देखाइएकी तीनै जना फुलसरी राईको नागरिकता नम्बर ८६५र७२७ उल्लेख छ । तीनै जनाले वडा सचिवमार्फत सामाजिक सुरक्षा भत्ता बुझ्दा औँठा छाप लगाएका छन् ।

यति मात्र नभइ उक्त वडामा मृत्यु भएपछि स्थानीय पञ्जिकाधिकारीको आधिकारिक हस्ताक्षरसहित मृत्यु दर्ता गराएका व्यक्तिको नाममासमेत अहिले पनि नियमित रुपमा सामाजिक सुरक्षा भत्ता बुझेको खुलासा भएको छ । लामो समयअघि मृत्यु भएका व्यक्तिको नाम र नागरिकता नम्बर प्रयोग गरेर अर्कै व्यक्तिले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकोसमेत स्रोतले दाबी गरेको छ ।

विसं २०७३ मा मृत्यु भएका आमा अबमायाँ खत्रीको नाममा अहिलेसम्म पनि नियमित रुपमा भत्ता बुझेको भर्पाइ पाइएको मृतक अबमायाँका छोरा डम्बरबहादुर खत्रीले बताए । उक्त वडामा गत आर्थिक वर्षको प्रथम चौमासिकमा मृत्यु भइसकेका दर्जन बढी व्यक्तिको नागरिकता नम्बर र जन्म मिति अर्को व्यक्तिको नाममा प्रयोग गरेर नियमित सामाजिक सुरक्षा भत्ता बुझेको पाइएको छ ।

मृत्यु भएका व्यक्तिको नाममा मात्र नभइ नियमित भत्ता बुझ्दै आएका जीवित व्यक्तिको नाम र नागरिकता नम्बरसमेत मिल्ने गरेको पाइएको छ । नरमायाँ खड्का र नरमायाँ विश्वकर्माको नागरिता नम्बर ९१७९२० एउटै प्रयोग गरेर नियमित सामाजिक सुरक्षा भत्ता बुभिएको पाइएको छ ।

स्थानीय जनप्रतिधि र कर्मचारीको मिलोमतोमै आफ्नो वडामा वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुने गरेको स्रोतको दाबी । यी माथि उल्लेख गरिएका व्यक्ति तथा नागरिकता नम्बर र भत्ता बुझ्ने व्यक्तिको जन्म मितिको विषय उक्त वडामा भेटिएका प्रतिनिधिमूलक घटना मात्र हुन् ।

उक्त वडामा यसअघि नै मृत्यु भइसकेका बालुकादेवी खड्का, बलबहादुर खड्का, मनमायाँ गुरागाइँ, मधुमायाँ गुरागाइँ, विष्णुमायाँ पौडेल, तुलसादेवी खत्री, पवित्रा घिमिरे, मनसिला राई, जङ्गमान राई, बहुतमायाँ राई, मदनबहादुर कटवाल, छत्रबहादुर राई, शुक्रबहादुर राई, कौसिला कटवाल र होमादेवी कटवालको नाममा अहिले पनि नियमित रुपमा सामाजिक सुरक्षाभत्ता लिएको खुलासा भएको छ । यतिसम्म कि उक्त वडामा एउटै मान्छेको नाममा एकल महिला र वृद्ध भत्तासमेत वितरण गरिएको पाइएको छ ।

त्यही वडामा लामो समयदेखि होमनाथ खनाल सचिव भएर काम गरेको र खनालकै पालादेखि सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको स्रोतको दाबी छ । स्थानीय तह लागू हुनुअघि गाविस हुँदा र स्थानीय लागू भएपछि पनि दुई वर्षसम्म खनाल सो वडामा सचिव रहेका थिए । सामाजिक सुरक्षा भत्तामा सबै भन्दा बढी अनियमितता भएको भनिएका उक्त वडामा पछिल्लो समय गत वैशाखदेखि कोपिलामणि ढकाल सरुवा भएर सचिव आउनु भएको छ । उहाँको पालामासमेत यसअघि अनियमित रुपमा निकासा हुँदै आएको सामाजिक सुरक्षा भत्ताले निरन्तरता पाएको छ ।

आफ्नो वडामा सामाजिक सुरक्षा भत्ता वितरणमा भएको अनियमितताका विषयमा आफू संलग्न नरहेको मात्तिम बिर्ताका वडाध्यक्ष वीरबल राईले बताए । “सामाजिक सुरक्षा भत्तामा अनियमितता हुनुमा मेरो कुनै संलग्नता छैन”, उनले भने, “कर्मचारीको गद्दारीले हामी जनप्रतिनिधिको मर्यादामाथि नै आँच पुग्ने काम भएको छ ।”

यसअघि सो गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङमा पनि अनियमितता भएको सञ्चारमाध्यममा आएको थियो । उक्त वडामा वडाध्यक्ष कृष्णप्रसाद भट्टराईकै मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको स्रोतको दाबी छ । मासिक रुपमा उपलब्ध गराइँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा गाउँपालिकाको सबै वडामा अनियमितता भएको पाइएकाले छानबिन गरी कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । “कर्मचारीले मृत्यु भइसकेका व्यक्तिको नाममा, एउटै व्यक्तिको नाम दोहो¥याएर, एउटै नागरिकता नम्बर देखाएर र एउटै जन्म मिति उल्लेख गरेर वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरिरहेको पाइयो”, उनले भने, “राज्यको रकम दुरुपयोग गरेको पाएपछि उपप्रमुखको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । अनियमितता गर्नमा संलग्न जोकोहीलाई कानूनी कारवाही गरिनेछ ।”

साकेला गाउँपालिकामा भएको भत्ता वितरण सम्बन्धी अनियमितताका विषयमा गृह मन्त्रालयले समेत चासो व्यक्त गरेको छ । भत्ता वितरणमा जनप्रतिनिधि र कर्मचारीकै मिलेमातोमा यसअघि हुँदै आएको दुरुपयोग रोक्न गाउँपालिकाले अभियान शुरु गरेपछि उक्त विषय बाहिर आएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा कर्मचारीमार्फत लाभग्राहीको घर–घरमा पुगेर वितरण गरिँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा सबैजसो ठाउँमा अनियमितता हुने गरेको पाइएको छ । यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराह पोखरी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा लाखौँ रकम अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजूरी परेको थियो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता वितरणको नाममा कर्मचारीले लाखौँ रकम दुरुपयोग गर्दै आएको स्रोतको दाबी छ । यसअघि दुरुपयोग हुँदै सामाजिक सुरक्षा भत्ता दुरुपयोगलाई आगामी दिनमा रोक्न सबै स्थानीय तहले बैङ्किङ प्रणालीमार्फत वितरण गर्ने तयारी गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board