नगरप्रमुख र गाउँपालिकाका अध्यक्षलाई कोरोना पुष्टि

नवलपरासी, २७ असोज । नवलपरासी बर्दघाट सुस्तापश्चिमको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेशनल पथल्याब बुटवलमा सोमबार गरिएको पिसीआर परीक्षणको क्रममा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । रुघाखोकी र ज्वरो आएपछि केही दिनदेखि आराम गदै नगरप्रमुख बस्यालले सोमबार स्वाब परीक्षण गर्दा आफू सङ्क्रमित भएको पुष्टि गरे ।

उनी अहिले होम आइसोलेसनमा छन् । आफूसँग सम्पर्कमा रहेकालाई सतर्क र सजग रहन आग्रह गर्दै प्रमुख बस्यालले छिट्टै कोरोना जितेर नागरिकको सेवामा फर्किने बताए । “जनताको सेवामा खटिँदै गर्दा म पनि सङ्क्रमित हुन पुगेको छु, मलाई कुनै अफ्ठ्यारो परेको छैन, कति पनि हत्तोत्साहित नहुन म नगरवासीलाई आग्रह गर्दछु”, उनले भने । कोरोनालाई हेल्चेक्रयाइँ नगर्न भन्दै कोरोनाको लक्षणहरु देखिएमा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगरप्रमुख बस्यालले सबैमा अनुरोध पनि गरे ।

तुलसीपुर– दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा अध्यक्ष पौडेलसहित प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल, इञ्जीनियर राजेश देवकोटा, गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी सिद्धबहादुर केसी, बबई गाउँपालिका वडा नं २ का वडाध्यक्ष चिन्तामणि शर्मासहित छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

गाउँपालिकाका प्रेस संयोजक प्रेम राम्जाका अनुसार कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । अहिले भने त्यस्तो लक्षण नदेखिएको उनले जानकारी दिए । जिल्लामा सोमबार मात्रै ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board