मानवअधिकार आयोगद्वारा दुई सय ८६ जना मानवअधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक

काठमाडौं, ३० असोज । राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो २० वर्षमा मानव अधिकार उल्लङ्घन गर्ने दुई सय ८६ जनाको नाम सार्वजनिक गरेको छ ।

आयोगले २० वर्षमा ११ सय ५५ वटा मानव अधिकार उल्लङ्घनका घटनामा कारबाहीको लागि सिफारिस गरेका दुई सय ८६ जनाको विवरण सार्वजनिक गरेको हो । मानव अधिकार उल्लङ्घन गर्नेमध्ये नेपाल सरकारका पूर्व सचिवसहित १६ जना निजामती कर्मचारी, पूर्वआईजीपी कुवेरसिंह राणासहित ९८ जना प्रहरी, आठ जना सशस्त्र प्रहरी छन् । त्यस्तै ८५ जना सेना, ६५ जना माओवादीका नेता तथा कार्यकर्ता, चार जना शिक्षक, दुई जना डाक्टर, सात जना कैदी र एक जना मानवअधिकारकर्मी नै रहेका छन् ।

यीमध्ये ३० जनालाई कारबाही भए पनि दुई सय ५६ जनालाई कारबाही नभएको आयोगले जनाएको छ । सशस्त्र द्वन्द्वसँग सम्बन्धित नौ सय ४० वटा र अन्य दुई सय ५५ वटा सिफारिस रहेका छन् । आयोगका एक सय ६३ वटा पूर्ण कार्यान्वयन भएका, चार सय ४५ वटा आंशिक कार्यान्वयन भएका र पाँच सय ८७ सिफारिस अझै कार्यान्वयन भएका छैनन् ।

आयोगका सिफारिस कार्यान्वयनको लागि नेपाल सरकार, सर्वोच्च अदालत, संसदीय समिति, नागरिक समाज र संयुक्त राष्ट्र सङ्घीय कार्यक्रम लगायतबाट प्रयास हुँदा पनि सन्तोषजनक नभएको आयोगले जनाएको छ । पीडितको जीवन स्वतन्त्रता, समानता र मर्यादाको विषयलाई आर्थिक लेनदेनमार्फत टुङ्ग्याउँदा दण्डहीनता बढेको प्रतिवेदनमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board