पूर्वमन्त्री डा. यादवको निधन

सप्तरी, २ कात्तिक । पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आज निधन भएको छ । महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उहाँका भतिजा अजयले जानकारी दिए ।

काठमाडौँमा बसोबास गर्दै आएका डा यादव एक महिनाअघि बथनाहास्थित घरमा आएर बसेका थिए । उनी चार दिनअघि अचानक बेहोश भएपछि उपचारका लागि विराटनगर लगिएको थियो । केही वर्षअघि मुटुको बाइपास सर्जरी गराएका डा यादवको मस्तिष्काघातका कारण निधन भएको अजयले बताए ।

यादव २०३६ साल जेठ १८ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री थिए । यसैगरी २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उनी स्वास्थ्यमन्त्री रहेका थिए । प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय डा यादव मधेशी नागरिक समाजका अध्यक्षको हैसियतमा सामाजिक कार्यमा संलग्न रहेका थिए । उनको बथनाहास्थित पैतृक गाउँमा आज साँझ दाहसंस्कार गरिने डा यादवको पारिवारिक स्रोतले जनाएको छ । यादवका एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँका श्रीमतीको एक वर्षअघि निधन भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board