बडा दशैँः न घर लिपपोत, न गाउँमा चहलपहल !

काठमाडौं, ३ कात्तिक । यो बर्ष हिन्दु नेपालीको चाड बडा दशैँ सुनसान देखिएको छ । दशैँ नजिकिँदै गर्दा कतै पनि चहलपहल देखिएको छैन । कोरोना भाईरस संक्रमण फैलिन नदिन अधिकांश स्थानहरुमा यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

विगतका दशैँमा टीकापुर नगरपालिका–४ बाघमाराकी खेमा शर्माको घर घटनास्थापनाअघि लिपपोत गरेर चिटिक्क हुन्थ्यो । यस वर्ष कोरोना महामारीको त्रासले उनीलाई दशैँ मनाउन मन लागिरहेको छैन । ‘‘समय सबैभन्दा बलवान छ ।

हामीले समय र परिस्थितिलाई पछ्याउँदै हिड्नुपर्छ’’, शर्माले भनिन्, ‘‘यो बेला कोरोना भाइसर सङ्क्रमणले सबैतिर आक्रान्त पारेको छ । कोरोनाको प्रभाव र सरकारको आग्रहअनुसार सुरक्षित भएर बस्नुपर्ने भएकोले आँगनमा आएको दशैँ पनि मनाउन मन लागेन ।’’ शर्माले यस वर्ष घरमै सामान्य पूजाआजा र टिकाटालो गर्नुहुनेछ । ‘‘अघिल्ला वर्षजस्तो खसी ढाल्ने, माइती जाने, आफन्तकहाँ जाने र आउने काम बन्द हुनेछ’’, उनी भन्छिन्, ‘‘यस वर्ष बाँचे पो अर्को वर्ष मनाउला भनेर केही गरेनौँ ।’’

शर्माको घरमा जस्तै यस वर्षको दशैँमा गाउँघरमा विगतका वर्षजस्तो चहलपहल देखिँदैन। विगतका वर्षमा हप्ता दिन पहिले घर लिपपोत गर्ने, सरसमान मिलाउने, गाउँमा नाचगान गर्ने गरिन्थ्यो तर यस वर्ष त्यस्तो भएको खासै नदेखिएको टीकापुर–१ विपतपुरका विरबहादुर मगर बताउँछन् । ‘‘दशैँ भनेपछि गाउँ नै रमाइलो हुन्थ्यो, बाहिर भएका सबै घर फर्कन्थे’’, मगरले भने, ‘‘यस वर्ष त दशैँ अगावै खर्च सकिएर लकडाउनमा घर फर्केका नेपाली भारत पसेका छन्, आर्थिक समस्या टार्न नसकेर कामको खोजीमा भारत पसेका हुन् ।’’

पहिले भारत वा देश बाहिर रहेका, विभिन्न कारणले घर बाहिर भएकाहरु दशैं मनाउन गाउँघर फर्कनेको लर्को लाग्थ्यो । ‘‘दशैँमा गाउँमा उमङ्ग हुन्थ्यो तर यस वर्ष खासै उत्साह नभएको भजनी नगरपालिका राजबाराकी आरती विकले बताए । ‘‘गाउँमा सबै त्रसित छन्, मानिसले बोलचाल बन्द गर्न थालिसके’’, विकले भने, ‘‘म पनि यस वर्ष माइत नजाने भएको छु ।’’

प्रायः दशैँको समयमा थारु गाउँमा निकै चहलपहल हुन्थ्यो । आजभोलि थारु गाउँमा पनि चहलपहल र रमाइलो छैन । विगत वर्षमा यो समयमा फरक–फरक टोल र थारु गाउँका नाटक, थारु नांच हुने गरेको देखिन्थ्यो तर यस वर्ष त्यस्तो उल्लास छैन’’, टीकापुरकै राजाराम चौधरी भन्छन्, ‘‘थारु समुदायले एक महिनासम्म नाच्ने सखिया, बड्का, मुङग्रौहा, झुम्रा लगायतका नाच देख्न पाइएको छैन ।’’

कोरोनाका कारण गाउँघर मात्र नभइ शहर बजारमा पनि नागरिकको चहलपहल कम छ । बन्दाबन्दीले आर्थिक संकट पनि सिर्जना गरेको छ । टीकापुरकी कमला रावल मानिसको चहलपहल नहुनुमा र्आिर्थक कारण पनि रहेको बताउँछन् । ‘‘छ महिनादेखि सबै क्षेत्र बन्द रह्यो, मानिससँग अर्थ छैन’’, रावलले भन्नुभयो, ‘‘रकम भए पो किनमेल, चहलपहल हुन्छ ।’’

टीकापुर अस्पतालका सिनियर नर्स कल्पना खड्काले स्वास्थ्य सबैभन्दा ठुलो भएकाले यस्तो बेलामा स्वास्थ्य सुरक्षामा ध्यान नदिइ भीडभाड गरेर चाडपर्व नमनाउनु नै उचित भएको बताए ।

शैँमा तिहारमा भीडभाड गर्न निषेध
यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ । नेपालमा कोरोना सङ्क्रमणको दर दिनप्रतिदिन बढ्दै गएको अवस्थामा जोखिम उच्च हुने भन्दै जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले दशैँलक्षित भीड, मेलापर्व सञ्चालन र मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरेको हो । मन्दिरहरुमा नित्य पुजाबाहेक सबै खाले दर्शनमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

बढी भाडा लिनेलाई कारबाही
यातायात व्यवसायीले यात्रुहरुबाट आफूखुशी भाडा उठाउने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले त्यरी भाडा असुल्न रोक लगाउने निर्णय गरेको छ । कोभिड सङ्क्रमणको बेलामा सरकारले ५० प्रतिशतसम्म भाडा बढाएर यात्रु ओसारपसार गर्न भनेको थियो तर गत असोज ३० गतेबाट भने पुरानै भाडादर कायम गरी यात्रुलाई सेवा दिन भनिएपनि बढी भाडा लिने गरेको गुनासो आएको थियो ।

मेला उत्सव र जात्रामा रोक
यस्तै, यसपालि महोत्तरी जिल्लाका देवी शक्तिपीठ र मन्दिरहरुमा दशैँ उत्सव नहुने भएको छ । दशैँ पर्वमा आयोजन हुने मेला उत्सवको भीडमा कोभिड–१९ सङ्क्रमण जोखिम बढ्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले यस्ता गतिविधिमा रोक लगाएको हो ।

जिल्लाको औरही नगरपालिकास्थित सोनामाई प्रसिद्ध देवी शक्तिपीठका रूपमा मानिन्छ । त्यसैगरी जलेश्वर नगरपालिकाको जलेश्वर नगर क्षेत्रभित्रका संसारी माई, राजदेवी माई र बर्दिवास नगरपालिका–४ स्थित पञ्चधुरा माई मन्दिरमा दशैँमा मेला उत्सव र बलि आयोजन हुँदै आएको छ । पर्वको अवसरमा हुने जमघट र भीडमा सङ्क्रमण जोखिम बढ्ने हुँदा यस्तो मेला आयोजन नगर्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

जिल्लामा कोभिड–१९ सङ्क्रमण बढिरहेका बेला परेको दशैँ पर्व आ–आफ्नो घरपरिवारबीच मात्र मनाउन जिल्ला प्रशासन कार्यालयले शनिबार जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख छ । “देवी शक्तिपिठ र मन्दिरमा सम्बन्धित पुजारीले पर्वविशेषको विधिअनुसार नियमित पूजाआराधना गर्नेछन्”, प्रमुख जिल्ला अधिकारी कटुवालको हस्ताक्षरित आदेशमा भनिएको छ, “सामूहिक बलि, मेला उत्सव भने आयोजन गर्न पाइने छैन ।”

जिल्लामा देवी शक्तिपीठ र मन्दिरमा मात्र नभई धेरैजसो गाउँनगर बस्तीमा देवी प्रतिमा स्थापित गरेर मेला आयोजन गर्ने परम्परा छ । यसपालि त्यस्ता मेला पनि आयोजना नगर्न जिल्ला प्रशासनले आदेशमा स्पष्ट पारेको छ । दशैँ पर्वभरि मदिरा बेचबिखन, सार्वजनिकस्थलमा सेवन गरिने काम दण्डनीय हुने आदेशमा उल्लेख छ । निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई तत्काल कारवाही गरिने कार्यालयले स्पष्ट पारेको छ ।

जिल्लामा दिनदिनै कोभिड–१९ सङ्क्रमण बढिरहेकै छ । जिल्लामा शनिबारसम्म एक हजार ६४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यो सङ्क्रमणले जिल्लामा १६ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमण बढ्नुको मुख्य कारण नै भौतिक दूरी निर्वाह नहुनु र सतर्कता नअपनाइनु देखिएको स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहनुभएका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउँछन् ।

जात्रा, मेला लगाउन रोक
यस्तै, कोरोना सङ्क्रमण बढेको भन्दै जाजरकोट र रुकुमपश्चिमले आफ्नो क्षेत्रभित्रमा मेला, जात्रा लगाउन प्रतिबन्ध लगाएको छ । भेरी नगरपालिका, बारेकोट कार्यपालिकाको बैठकबाट यो निर्णय गरेको हो भने रुकुमपश्चिमले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धार्मिक, परम्परागत र पर्व विशेषका मेलामा रोक लगाएको हो । बारेकोटमा रामीडाँडा, कार्कीज्यूला, सुगुरखाल मेला लाग्ने गर्दछन् । रुकुममा घटस्थापनादेखि धार्मिक र परम्परागत मेला लाग्छन् । ती सबै मेलालाई रोक्न जिल्ला प्रशासनले सूचना जारी गरेको हो ।

सामाजिक दूरी कायम गरी सतर्कता अपनाई धार्मिक कार्य गर्न भने छुट दिइएको रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । “सबैतिर जमघट हुँदा कोरोना फैलने भएपछि सबैको सहमतिमा मेलामा रोक लगाइएको हो”, उनले भने, “चाडपर्व मनाउन पनि निश्चित मापदण्ड बनाएका छौँ ।”जिल्लामा दशैँदेखि धार्मिक, परम्परागत तथा पर्व विशेषका मेला हप्तैपिच्छे लाग्छन् । डिग्रे साइकुमारी, चौतारा, चिसापानी, बेलटापु, कुनाखेत, शङ्खपिपललगायत मेला जिल्लाका ठूला मेला मानिन्छन् । प्रशासनले सूचना जारी गरेसँगै पाँच दिनसम्म लाग्ने डिग्रेमेला पनि यो वर्ष नलाग्ने भएको हो । मेला भर्न देशका विभिन्न ठाउँका साथै भारतबाट पनि भक्तजन आउँछन् । डिग्रेमेला हरेक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म लाग्ने गर्छ ।

चितवनमा पनि रोक
यस्तै, जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई लक्षित गर्दै जिल्लामा हुने विभिन्न किसिमका उत्सव र जात्राहरु नगर्न निर्देशन दिएको छ । कोरोनाको सङ्क्रमण बढ्नसक्ने भन्दै चाडपर्व लक्षित कार्यक्रमहरु बन्द गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । चाडपर्वमा पारिवारिक भेटघाट बाहेकका अन्य कार्यक्रमहरु नगर्न सबैमा जानकारी गराइएको छ । अघिल्ला वर्षहरुमा हुने गरेका विभिन्न प्रतियोगिता तथा कार्यक्रम नगर्न निर्देशन दिइएको उनले बताए । उनले भने, “नवरात्रिको समयमा मठमन्दिर एवं शक्तिपीठहरुमा दर्शन निषेध गरिएको छ । जिल्लामा हुने सबै किसिमका मेला महोत्सवहरु नगर्न आयोजकहरुलाई आग्रह गरिएको छ ।”

मठमन्दिर एवं शक्तिपीठमा नित्य पूजाबाहेक दर्शन लगायतका अन्य गतिविधि रोकिएको हो । कोरोना सङ्क्रमणको त्रासमा चाडपर्वलाई मर्यादित बनाउँदै घरपरिवारसँग बसेर मनाउनुपर्ने शर्माले बताए । अहिलेको महामारीको समयमा स्थानीय प्रशासनको आदेश पालना नगर्नेलाई सङ्क्रामक ऐन, २०२० आदेश अपहेलनाअनुसार कारबाही गरिने उनले उल्लेख गरे ।

यो पनि

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board