अमेरिकी चुनावः विस्कन्सिनमा बाइडेन विजयी

काठमाडौं, २० कात्तिक । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गर्नु भएको छ । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी हुनु भएको थियो । मिचिगन र विक्सन्सिन राज्यमा बाइडेनलाई सफलता प्राप्त भएसँगै राष्ट्रपति ट्रम्पलाई पुनः राष्ट्रपतिमा विजयी हुन कठिन हुँदै गएको छ ।

अमेरिकामा गत मंगलबार चुनाव भएको थियो । मंगलबार राति र बुधबार दिनभर मतगणना हुँदा पनि राष्ट्रपतिमा चयन हुनका लागि आवश्यक २७० इलेक्टोरल कलेज निर्वाचक प्रतिनिधि दुबै उम्मेदवारले प्राप्त गर्न सकेका छैनन् । पछिल्लो मत परिणाम अनुसार बाइडेनले २६४ इलेक्टोरल मत प्राप्त गर्नु भएको छ र उनी विजयको नजिक छन् । बाइडेनले सात करोड १० लाखभन्दा बढी मत प्राप्त गरिसकेका छन् । अमेरिकी इतिहासमा राष्ट्रपतिका कुनै पनि उम्मेदवारले प्राप्त गरेको यो सबैभन्दा बढी मत हो ।

पछिल्लो चुनावी अवस्थाका बारेमा उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिससँगै ब्रिफिङ दिँदै बाइडेनले आफू अमेरिकी राष्ट्रपति पदमा विजयी हुने अन्तिम अवस्थामा पुगेको बताउनुभयो । तर उहाँले आफू विजयी भएको घोषणा गर्न चाहेनन् ।

उनले भने, “म अमेरिकी राष्ट्रपति हुँदैछु । मैले विजय प्राप्त गरेपछि रातो वा निलो रङका आधारमा कुनै राज्यमाथि भेदभाव हुने छैन । मेरो ध्यान केबल संयुक्तराज्य अमेरिका हुनेछ ।” राष्ट्रपति ट्रम्पले भने आफूले चुनावमा विजय हासिल गरिसकेको दाबी गरेका थिए । जसलाई स्वयं रिपब्लीकन पार्टीका नेताहरुले हतारको घोषणा भन्दै आलोचना गरेका थिए ।

विस्कन्सिन र मिचिगनमा विजय प्राप्त गरेसँगै बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित हुन ६ इलेक्टोरल भोट मात्र आवश्यक रहेको छ । निर्वाचनको मिश्रित नतिजा आइरहेको अवस्थामा राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसमै बिताएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board