विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं, २४ कात्तिक । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै शाक्यलाई निमित्त प्रमुख तोकेको हो ।

उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए । शाक्यलाई यसअघिका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिर हुन आइतबार निर्देशन दिएका थिए ।

शाक्यले हाल नेतृत्व गरिरहेको एनईए इन्जिनियरिङ प्राधिकरणको सहायक कम्पनी हो । परामर्श एवम् इन्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै २०७३ मा स्थापित कम्पनीको प्रवन्ध निर्देशकका रुपमा काम गर्न कुलमान घिसिङले नै शाक्यलाई पठाएका थिए ।

शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् । उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगत तयारी चरणको परियोजनामा पनि खटिएका थिए । प्राधिकरणबाट घिसिङ बाहिरएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो दावेदारी रहेको बताउँदै आएका थिए ।

निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउनुभएका शाक्यले आजै प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पुगेर आफ्नो पदबहाली गरेका छन् । उनी तीन वर्षदेखि प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनीयरिङ कम्पनीको प्रबन्ध सञ्चालकका रुपमा कार्यरत थिए । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले अध्ययन तथा अनुसन्धानका क्षेत्रमा खर्च हुने पैसा विदेशिनबाट रोक्ने ध्येयका साथ उक्त कम्पनी स्थापना गरेका हुन् ।

गत भदौ २९ गतेदेखि घिसिङको चारवर्षे कार्यावधि सकिएपछि मन्त्रालयले उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । पदबहालीपछि कुरा गर्दै निमित्त कार्यकारी निर्देशक शाक्यले तत्कालका लागि बत्तीको पर्वसमेत मानिएको तिहारमा विद्युत् पुगेका सबै नेपालीका घरमा सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन आफू र आफ्नो टोली लागिपर्ने जानकारी दिए ।

उनले पछिल्ला दिनमा देखिएका केही समस्या समाधानका लागि समेत आफू लागिपर्ने र त्यसका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताए । उनले भने, “दीर्घकालीनरुपमा गर्ने कामका बारेमा भने केही समयपछि मात्रै भन्न सकिन्छ । तत्कालका लागि भने तिहारलाई केन्द्रमा राखेर हामी काम गर्छौं ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board