नेकपा विवाद: ओली र प्रचण्ड-नेपाल समूहको आज छुट्टाछुट्टै छलफल, अवको विकल्प के ?

कामठाडौं, २४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा यतिबेला विवाद चर्किएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच देखिएको विवादलाई मथ्थर गराउन यतिबेला नेकपाका नेताहरू पनि सक्रिय भएका छन् ।

नेकपाका नेताहरुले पार्टीभित्र देखिएको विवाद समाधानका लागि छलफल गरिएको भन्दै आज पनि विभिन्न अनौपचारिक भेटवार्ता गरेका छन् । आज विभिन्न ठाउँमा छुट्टाछुट्टै वार्ता त कतै आफ्नो समूहको भेलालाई निरन्तरता दिएका छन् ।

स्रोतका अन्सार आआफ्नो भूमिका र शक्तिअनुसार ओली र दाहाल–नेपालसमूह अर्को पक्षमाथि दबाब बनाउने रणनीतिमा जुटेका छन् । दुवै पक्षले अनौपचारिक बैठक, छुट्टाछुट्टै वार्ता तथा भेटघाट छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएका विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलका सदस्यहरुलाई बोलाएर छलफल गरेका छन् । नेकपामा देखिएको विवाद समाधानका लागि सोमबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीसँग नेकपा कार्यदलका ४ जना सदस्य सोमबार दिउँसो अध्यक्ष ओलीले कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । तर बालुवाटारको छलफलमा कार्यदल सदस्य जनार्दन शर्मा र पम्फा भुसाल भने उपस्थित भएनन् ।

कार्यदलका सदस्य । फाईल तस्विर

केन्द्रीय कमिटी र गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको म्यान्डेटअनुरूप प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतले बैठक बोलाउन सक्ने अधिकार भएता पनि प्रचण्ड भने पार्टी एकतालाई जोगाउन ओलीको सहमतिमै अघि बढ्न चाहिरहेको एक नेताको भनाई छ ।

नेकपाका दुई अध्यक्षबीच विवाद बढिरहेका बेला प्रधानमन्त्रीको सन्देश लिएर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । प्रचण्डनिवास खुमलटारमा भएको भेटमा महासचिव पौडेलले पार्टी विधानअनुसार सचिवालय बैठक बोलाउने जानकारी गराएको स्रोतको भनाई छ ।

एक नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्म पनि बैठक नबोलाए प्रचण्डले नै सचिवालय बैठक बोलाउने तयारी प्रचण्ड-नेपाल पक्षले गरेका छन्। उक्त सचिवालय बैठकले स्थायी समिति बैठक डाक्ने निर्णय गर्नेछ।

कात्तिक २२ गते सचिवालय बैठकको माग राखी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले लिखित पत्र बुझाएका थिए। नेताको उक्त आग्रह र अल्टिमेटमलाई अध्यक्ष ओलीले भने वेवास्ता गरिरहेका छन् ।

प्रचण्डसँग खुमलटारमा जनार्दनको छलफल
प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलका सदस्यहरुलाई बोलाएको छलफलमा जनार्दन शर्मा र पम्फा भुसाल भने सहभागी भएनन् । दिउँसो १२ बजे कार्यदलका ५ जना सदस्य बालुवाटार पुग्दा शर्मा भने पार्टीका अर्का अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर छलफल गरेका छन् । शर्मा र अध्यक्ष प्रचण्डबीच एक घण्टा भेटवार्ता भएको छ । अध्यक्षसँगको भेटमा पार्टीमा उत्पन्न समस्या र समाधानका उपायका बारेमा कुराकानी शर्माको भनाई छ । उता महासचिव विष्णु पौडेलसहित नेताहरु भीम रावल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेले बालुवाटारमा ओलीसँग सोही समयमा भेटवार्ता गरेका थिए ।

कार्यदलका सदस्य छलफल नै नगरी फर्किए
प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि गएका नेकपा विवाद समाधान कार्यदलका सदस्यहरु छलफल नै नगरी फर्किएका छन्। सोमबार मध्याह्न प्रधानमन्त्री ओलीसंँग पार्टीभित्रको गतिरोध अन्त्य गर्न छलफलका लागि गएका उनीहरु त्यतिकै फर्किएको एक स्थायी समिति सदस्यले बताए ।

सोमबार प्रधानमन्त्रीसंँग भेट गरेर भदौ २६ को निर्णय कार्यान्वयनमा कहाँ समस्या परेको हो भन्ने विषयमा छलफल गर्न बालुवाटार पुगेको तर छलफल नै नगरी फर्किएको स्थायी समिति सदस्य भीम रावलले बताए । उनले भने, ‘तर कार्यदलमा रहेका जनार्दन शर्मा र पम्फा भुसाल आउनुभएन अनि प्रधानमन्त्रीलाई भेट नगरी फर्कियौँ।’

नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच देखिएको विवादलाई मथ्थर गराउन नेताहरूले सक्रियता देखाएका छन् । विघटन भएको सोही कार्यदलले नै प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने तय गरेको थियो। सोमबार महासचिव विष्णु पौडेलले अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर भेट गरेका थिए। पार्टीमा विवाद हुँदा साउन ३० गते महासचिव पौडेलको नेतृत्वमा विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको हो ।

तत्काल बैठक बोलाउन नेकपाका अनुशासन आयोगको आग्रह
नेकपाको केन्द्रीय अनुशासन आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोप–प्रत्यारोप छाडेर अविलम्ब बैठक आह्वान गरी समस्याको समाधान गर्न आग्रह गरेको छ । अन्तरपार्टी विवादलाई माक्र्सवादी र विधिसम्मत तरिकाले आपसमा बसेर सुल्झाउन आग्रह गर्दै आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टी कमिटीका आधिकारिक निकायलाई गतिशील तुल्याई विभाजन जस्ता सुन्न नसकिने कुरा सार्वजनिक नगर्न सुझाएका हुन् ।

फाईल तस्विर

अध्यक्ष बोहराले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनका लागि तत्परता देखाउन आग्रह गर्दै समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न पार्टी एकता जरुरी भएकाले फुटतर्फ नलाग्न पनि ध्यानाकर्षण गराएका छन् । उनले विज्ञप्तिमा भनेको छ, “जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं ।

बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं । पार्टी एकताका बाँकी सबै काम छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र सङ्गठनात्मक रुपमा एकताबद्ध बनाऔं । पार्टीमा देखापरेका अनुशासन र पद्दतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा विचलन जस्ता विद्यमान विकृति र विसङ्गतिलाई सघन वैचारिक सङ्घर्षद्वारा परास्त गरौँ ।”

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board