काठमाडौँ, २६ कात्तिक । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३६ औँ जन्म जयन्तीको अवसर पारेर पशुपति क्षेत्रस्थित मृगस्थलीको किराँतेश्वर मन्दिर परिसरमा गुर्जोको वृक्षरोपण गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने वनस्पति गुर्जोका १०० बिरुवा किराँतेश्वर मन्दिर परिसरमा रोपिएको किराँत धर्म सांस्कृतिक परिषद् नेपालका अध्यक्ष बीरबहादुर लिम्बुले राससलाई जानकारी दिए । महागुरुको जयन्तीकै अवसर पारेर करिब १०० बिरुवा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीलाई वितरण समेत गरिएको जनाइएको छ । गुर्जोको बिरुवा अभियानकर्मी राजबहादुर लवटले निःशुल्क उपलब्ध गराएका हुन् ।
आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत राजलवटले सरकारी निवास क्षेत्रमा उत्पादन गरेको गुर्जोका बिरुवा देशव्यापी रुपमा निःशुल्क वितरण गर्दै आएका छन् । अभियानकर्मी राजलवटले हालसम्म एक लाख २५ हजार बिरुवा निःशुल्क वितरण गरेका छन् । रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भएकाले एक घरमा कम्तीमा एउटा बिरुवा रोपिनुपर्ने अभियानकर्मीको भनाई छ ।
असनचोकमा खुला रुपमा दुई हजार ५०० र रत्नपार्कस्थित शान्तिवाटिकामा एक हजार ७०० बिरुवा पनि बाटोमा हिँड्ने इच्छुक व्यक्तिलाई वितरण गरिएको उनले जानकारी दिए । यसैगरी ठिमी, टोखालगायत स्थानमा पनि निःशुल्क रुपमा गुर्जोको बिरुवा, गुर्जोको धुलो र चिया वितरण गरिएको जनाइएको ।
गुर्जोको धुलो मधुमेह, उच्च रक्तचाप, ग्याष्ट्रिक, माइग्रेसन, मौसमी रुघा खोकीलगायत रोगका लागि पनि औषधीको काम गर्ने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्यले जानकारी दिए । खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरो ताजा अनुभव हुने गरेको छ । यसले शरीरभित्र रहेका कीटाणु मारी मानिसलाई स्फूर्ति दिन्छ ।
गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधीको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावना अनुसार देशव्यापी रुपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो ।
गुर्जोको धुलो मन तातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने बानी बसाले कोरोना पोजेटिभ भएकामा छिटो निको हुने गरेको जानकारी पनि अभियानकर्मी राजलवटले दिए । माग गर्ने जति सबैलाई निःशुल्क गुर्जोको बिरुवा, गुर्जोबाट बनेको चिया र धुलोसमेत उपलब्ध गराउने अभियानकर्मीको प्रतिबद्धता छ ।
देशभर एक घर एक गुर्जोको बिरुवा रोप्नुपर्ने यो अभियानमा लागेकाको मत छ । राजलवटलाई योग शिक्षक एवं राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशी, जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थी, उपत्यकाका विभिन्न स्थानमा सक्रिय सफाइ अभियानकर्मीलगायतले गुर्जोका बिरुवा वितरण अभियानमा सहयोग गरेको जनाईएको छ ।
गुर्जोसँगै अमला, निम, तुलसीपत्र, समी, कपुर जस्ता औषधीय गुणले युक्त वनस्पति रोपणमा लाग्न पनि अभियानले आम मानिसमा आह्वान गरेको छ । कोरोना पोजेटिभ भई होम आइसोलेसनमा बसेकालाई गुर्जोको धुलो, चिया, बिरुवा आवश्यक परेमा घरसम्म पुगेर निःशुल्क दिइने जानकारी उनले दिएका छन् ।
COMMENTS