नेकपा विवादः सचिवालय बैठक सकियो, मंसिर ३ गते अर्को बैठक बस्ने

काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज (शुक्रबार) बसेको सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर ३ गते अर्को बैठक बस्ने गरी एजेण्डा तय गरेको छ ।

आगामी बैठकमा पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय भएको छ । बैठकमा पार्टीभित्र देखिएको समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार ४० मिनटे बसेको बैठकमा कर्णाली प्रदेश लगायतका सांगठानिक संरचनाभित्र देखिएको समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ५ जनालाई लेखेको पत्र र कार्यकारी अध्यक्ष प्रचण्डसहित ५ नेताले ओलीलाई लेखेको पत्रसहित अन्तरपार्टी निर्देशिका केही दिन अध्ययन गर्नका लागि सचिवालय सदस्यहरुलाई बाँडिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अर्को बैठक आगामी मङ्सिर ३ गते बुधबार दिउँसो १ बजे बस्नेछ । प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता माधवकुमार नेपालबीच मन्त्रिपरिपषद्मा हेरफेर, कर्णाली प्रदेशको अन्तरविरोध, राजदूत नियुक्ति, भारत सरकारका प्रतिनिधि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँगको भेट, पार्टीको स्थायी कमिटीको निर्णय कार्यान्वयन र संवैधानिक निकायका रिक्त पदमा नियुक्ति आदिबारे अन्तरविरोध हुँदै आएको छ ।

प्रधानमन्त्री एवं पहिलो वरियताका अध्यक्ष ओलीले पार्टीको बैठक राख्न ढिलाइ गरेको गुनासो कार्यकारी अध्यक्ष दाहालसहितका नेताले लिखितरुपमा गरेपछि अध्यक्षद्वयको परामर्शमा आज बैठक भएको हो । बैठकमार्फत छलफल र संवाद शुरु भएकाले पार्टीमा तत्काल विभाजन आउन सक्ने भन्ने खतरा साम्य भएको छ । नेकपाकोे सचिवालय बैठक यसअघि गत असोज २१ गते बसेको थियो । आन्तरिक सहमतिका साथ गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको कार्यादेशबमोजिम सरकार र पार्टीका कामलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने सङ्कल्प गरिए पनि नेकपामा पुनः विवाद बल्झिएको हो । गत असोज ४ गतेको सचिवालय बैठकमा सङ्घीय मन्त्रिपरिषद्का मन्त्रीहरुको हेरफेरका नीतिगत आधारबारे छलफल भएको थियो । सोही बैठकले एकताका बाँकी कामलाई पूर्णता दिन अध्यक्ष ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० दिनभित्र गृहकार्य गरी सचिवालयमा पेश गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

गत स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय बीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएपछि विवाद टुङ्गिएको थियो । सो स्थायी कमिटीको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओली सरकारको काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टीको काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो । नेकपाले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तथा सोको तयारीका लागि आगामी कात्र्तिक १५ देखि १७ सम्म केन्द्रीय कमिटीको बैठक तय गरेकामा आगामी मङ्सिर १५ गतेका लागि केन्द्रीय कमिटीको बैठक सारिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board