कोभिड–१९ ले ‘सुनकोशी–तेस्रो’को प्रक्रिया धकेलियो

काठमाडौं, २८ कात्तिक । कोभिड–१९ कारण सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रिया धकेलिएको छ । परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन टीओआर प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरस्को उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको हो । एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोशी–तेस्रोको टिओआर भने गत साल माघमै विद्युत् विकास विभागलाई बुझाइसकेका छन् ।

टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाईन’देखि सर्वेसम्मको काम सकिएको उल्लेख गरिएको छ । टिओआरको कामलगत्तै वातावरणीय प्रभाव मूल्याङ्कन इआइएको काम रोकिएपछि कोरोना भाइरस्का कारण परियोजनाको थप काम हुन नुसकेको विभागका इन्जिनियर सुवास थपलियाले बताए । उनका अनुसार स्वास्थ्य–सुरक्षाका कारण इआइएका लागि वन तथा वातावरण मन्त्रालयलाई समेत परियोजनाबारे ‘ब्रिफ्रिङ’ गर्न सकिएको छैन ।

प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा के कस्तो व्यवस्था गर्न सकिन्छ तथा क्षतिपूर्तिलगायत विषयसमेत उल्लेख भएको थपलियाले जानकारी दिए । उनका अनुसार ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्त रुपमा सुनकोशी–३ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन इआइएका लागि क्षेत्र निर्धारणका लागि गत साल कात्तिक पहिलो सातादेखि प्रक्रिया शुरु गरिएको थियो ।

त्यतिबेला नै आयोजनाबाट प्रभावित पर्न सक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट सुझावसमेत मागिएको थियो ।परियोजनाअन्तर्गत वागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीको सिमाना भएर बग्ने सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभूघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । प्रस्तावित आयोजना सुनकोशी–३ बाट ५३६ मेघावाट विद्युत् उत्पादन हुनेछ ।

विभागका अनुसार सुनकोशी–३ का लागि लुभूघाटस्थित नदीमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाईको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेण्ड पानीलाई एक दशमलब एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङ्गबाट लुभूघाट नजिक निर्माण गरिने विद्युत्गृहमा लगिनेछ भने लगभग ५३६ मेघावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसालिनेछ । आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका करिब १ हजार ६०० परिवार प्रभावित हुनसक्ने थपलियाले बताए ।

आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नपा, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडा बाँध, विद्युत्गृह र डुवानक्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुवान क्षेत्र तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुवान क्षेत्रमा पर्नेछ ।

वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ को नियम ४ १, अननुसूची–२ बमोजिम इआइए प्रतिवेदन तयार गर्दा प्रभावित भनिएका क्षेत्रमा भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालका विषयमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रमा ‘राय–सुझाव’ लिनुपर्ने भएकाले समयसीमा तोकेर ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्त रुपमा सार्वजनिक रुपमा अपील गरिसकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board