जनकपुरधाम, ४ मङ्सिर ।
छठ माए अएलीह दुरिया सजाओल हे
पोखरी खना सजाओल हे ।
तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाउने रौनकता छाएको सन्देशमूलक यो गीत अहिले यत्रतत्र गुञ्जायमान छ । हिमाल, पहाड र तराईवासीलाई एकै सूत्रमा जोड्ने सेतुका रूपमा स्थापित भइसकेको छठ पर्वका लागि यस पटक कोरोना सङ्क्रमण कहरबीच नदी र पोखरीमा घाट निर्माण र सजावटको कार्य अन्तिम चरणमा पुगिसकेको सन्देश यो गीतले दिइरहेको छ ।
मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्दा सन्तान प्राप्ति, निरोगिता, सुख समृद्धि र चर्मरोग जाति हुने जनविश्वास अनुरूप यो पर्व कुनै समय प्राचीन मिथिला भू–भागभित्र मात्र प्रचलित रहेकोमा कालान्तरमा देश–देशान्तरसम्म विस्तार हुँदै गएको पाइन्छ ।
सूर्य पूजाको परम्परा सबै सभ्यता, धर्म, समुदाय र युगमा पाइन्छ । बेबिलोनका निवासीले सूर्यलाई अपोलो, जापानीले इजानागी र इजानामीलाई आदि पुरुष र आदि नारी मान्ने गर्दछन् र यी आदि पुरुष, आदि नारीबाट नै सूर्यको जन्म भएको विश्वास राख्छन् भने मिश्र सभ्यतामा एटम अथवा रे भनी सूर्यको पूजा गर्ने गरिन्छ ।
मानवलाई सर्वप्रथम उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने, रोगव्याधिबाट जोगाउने सूर्य नै भएकाले स्वभावतः मानव सूर्यप्रति आकर्षित भई सूर्य आराधनाको क्रम शुरू भएको मान्यता पाइन्छ । छठ पूजामा छठीमाईको पूजा गर्ने चलन पनि वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको सम्मिश्रण रूप मानिन्छ । यो पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले परमेश्वरीका रूपमा लोकमानसमा आस्थाको महापर्वको स्थान ग्रहण गरेको देखिन्छ ।
सूर्यको महिमा सबै सम्प्रदाय र ग्रन्थमा रहेको छ । ऋग्वेदमा भनिएको छ, “हे आकाशकी छोरी उषा मलाई अन्न, धन, छोराछोरी देऊ, वरदान देऊ कि म सधैँ बिहान ओछ्यानबाट उठेर बलिष्ठ छोराहरूको मुख देख्न सकौँ ।” सूर्योपनिषद्मा सूर्यलाई नै ब्रह्माको साकार रूप बताइएको छ । यतिमात्र होइन यस ग्रन्थमा सूर्यलाई जगत्को पति भनी सम्बोधन पनि गरिएको छ ।
यो पर्व कबुला भाकल गरेअनुसार गरिन्छ, भाकल नगरी यो व्रत गरिँदैन । भाकल पनि अनेक प्रकारले गरिएको पाइन्छ । कसैले अरूको हातबाट अघ्र्यदान गराउने भाकल गरेका हुन्छन भने कसैले आफैं व्रत गर्ने भाकल गरेका हुन्छन् । यस्तै एउटा अघ्र्य चढाउनेदेखि जोडा अघ्र्यका साथै पूर्णप्रति अघ्र्यदान गर्ने समेत भाकल गरिएका हुन्छन् ।
यसमा कोसिया, कुरबार, छिट्टा, अघ्र्य इत्यादि सबैथोक दुई–दुई प्रति चाहिने हुन्छ । यस्तै माटोका हात्तीमाथि अघ्र्य चढाउने, आँगनमा तथा घाटमा आँचलमाथि नटुआनाच गराउने, बाजा बजाएर अघ्र्यदान गर्ने, भीख मागेर छठ गर्ने भाकल पनि गर्ने गरिएको पाइन्छ । त्यस्तै साधारणतः अघ्र्य दिने, पानीमा उभिने, घरदेखि घाटसम्म आफूलाई दण्ड दिँदै जाने तथा पानीमा उभिनेजस्ता भाकलसमेत गरिएको देखिन्छ । यस्ता भाकल एक वर्षका लागि गर्नुका साथै पाँच वर्ष, दश वर्ष अथवा आजीवन समेतका लागि गरिने गरिएका हुन्छन् ।
बर्तालुले शरीर शुद्धि गर्न नुहाई भोकै अन्नजल नलिइकन बस्ने दिनलाई खरना भनिन्छ । यो दिन दिनभरि शरीर खारिने हुनाले यसलाई खरना भनिन्छ । राति देउतालाई चढाएर खिर खाइन्छ । परिवारजनले यसलाई प्रसाद भनी ग्रहण गर्छन् । अर्को दिन बर्तालु अन्न र जलबिना उपवास गर्छन् र साँझपख जलाशयमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिई घर फर्की बिहानीपख उदाँउदो सूर्यलाई अघ्र्य दिई उपवास तोडछन् । यसलाई पारण भनिन्छ । संयोगवश कुनै बेला हुस्सु लागेर सूर्योदय हुन ढिलाइ हुँदा बर्तालु सूर्यको प्रार्थना गर्दै गाउँछन् :
आन दिन त उगलह हे दीनानाथ भोरे भिनसरवा
आजुक दिनमा हे दीनानाथ कतए लागल बेर ।
अर्थात् हे दीनानाथ अन्य दिन त बिहानै उदाउनुहुन्थ्यो तर आज किन यत्रोबेला भइसक्दा पनि उदाउनुभएन रु गीतको लामो शृङ्खला चल्छ । मूलतः छठ गीतमा पर्वको विशिष्टता, पवित्रता र भक्तिभाव प्रदर्शित गरिएको हुन्छ भने अर्कोतिर पर्व गर्न नपाउने बाँझीहरूको पीडा पनि अभिव्यक्त भएको हुन्छ । छठ पर्वको पवित्रतासँग सम्बन्धित एउटा गीतमा अघ्र्यका लागि राखिएको केराको घरीमाथि उडिरहेको सुुगालाई हकार्दै यसरी भनिएको छ :
उजे केरबा फरल घओंद से
आइ पर सुगा मरडाए
उजे मारबौ रे सुगबा धनुख से
सुगा गीरे मुरिछाए
उजे सुगनी जे रोअले वियोग से
आदित होख न सहाए ।
अर्थात् केरालाई नछोऊ है, जुठो नबनाऊ । नत्र धनुषवाणले मार्नेछौँ, तिम्री सुगिनी वियोगले छटपटिन थाल्नेछिन्, फेरि सूूर्यलाई नै गुहार्नेछिन्– हे सूर्य सहायता गर । त्यस्तै बाँझी महिलाले यो व्रत गर्न नसकेकोमा दीनानाथ सूर्य सँग दुखेसो यसरी पोख्ने गर्छिन :
गहबर निपिते हो दीनानाथ
तरहथिया गेल खिआए
धूपबो जे दैत हो दीनानाथ
चुटुकियो गेल कटाए
तैयो ने छुटल हो दीनानाथ
बझिंनिया परधान ।
अर्थात् तिम्रो मन्दिरमा पूजा अर्चना गर्दागर्दे थाकी सकेँ तर बाँझी पद मैले छुटाउन सकिनँ । यस पर्वमा जीव र जगत् एकाकार भई दुवैको शक्ति मिलेर एउटा नयाँ शक्ति, ऊर्जा र ओजले यस पर्वमा नयाँ आकार ग्रहण गरिरहेको हुन्छ । प्रकृतिमा अजस्र शक्ति भएको र सम्भवतः यो चमत्कार बर्तालुको कठोर तपस्या, शुद्धता र पवित्रताले कारणले पनि हुनुपर्छ । अतः यो प्रकृतिबाट गृहिणीले आफ्ना सन्तान, पति, परिवारजनलाई शुभशक्ति, शान्ति, सुमङ्गल हस्तान्तरण गर्ने शक्तिशाली पर्व पनि हो ।
यस पर्वको तेस्रो दिनअर्थात् षष्ठीलाई पर्वको प्रमुख अंशका रूपमा मानिन्छ । यो दिन बिहानैदेखि चामल र पिठोको ठेकुवा, कसारलगायत परिकार पकाइन्छ । तयार पारिएका परिकार, पाँच थरिका मिठाइ, उखु, अदुवा, नरिवल, मुला, सुथनीलगायतका प्रसाद बाँसको टोकरी, नाङ्लो र सुप्पो राखी शुद्ध जल र गाईको दूधसहित बर्तालु परिवारसहित नजिकका जलाशयमा जान्छन् र बर्तालुुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । भोलिपल्ट सप्तमीका दिन बर्तालुले उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पहापर्वको महायात्रा सम्पन्न भएको मानिन्छ ।
वैज्ञानिक दृष्टिकोणले छठअन्तर्गत उपवास, सरसफाइ र विशेष अनुशासनले मस्तिष्कलाई निविर्षीकरण (डिटोक्सिफीकेशन) मा टेवा पुर्याउँछ, आधा शरीर पानीमा डुबाई उभिनुले प्राप्त शक्ति बाहिर आउनमा कमी आउनु र शक्ति मस्तिष्कमा केन्द्रित रहनु, कस्मिक शक्तिले आँखाको रेटिना र छालाको माध्यमले पिट्युटरी, हाइपोथालामस र पिनियल ग्रन्थीमा प्रवेश गर्नु, कस्मिक शक्तिले निष्क्रिय तन्तुलाई सक्रिय पार्ने मान्यता पाइन्छ । वैज्ञानिक रूपले सूर्योदय र सूर्यास्तको बेला मानव सुरक्षिततवरले सौर्य शक्ति प्राप्त गर्न सक्ने तथ्य रहेको छ ।
प्राध्यापक डा पशुपतिनाथ झाका अनुसार खेतीपाती र लोकजीवनसँग गहिरो सम्बन्ध, सांस्कृतिक समन्वय र सामाजिक सद्भावको मियोका रूपमा रहेको यो पर्व कर्मशीलता प्रदर्शनको पनि पर्व हो, यसले धार्मिक समन्वय र सहिष्णुताको कार्य पनि गरेको छ । छठ पर्वलाई आरोग्य र उन्नतिदायक पर्व पनि भनिन्छ । यसमा पुजिने सूर्य र जल दुवै आदि शक्ति हुन् । त्यसैले छठ पर्वले आरोग्य र विशेषगरी चर्मरोगबाट मुक्ति मिल्ने विश्वास पाइन्छ ।
COMMENTS