बिनानिष्कर्ष टुंगियो नेकपा सचिवालय बैठक :दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा जाने

काठमाडौं २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आइतबार १ बजे धुम्बाराहीमा बस्ने भएको छ। शनिबार बालुवाटारमा सचिवालय बैठक बसेको थियो। बैठकले हालसम्म पार्टीमा प्रस्तुत भएका एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘पार्टीको संकट निवारणका लागि अहिलेसम्म प्रस्तुत भएका विषयवस्तु र एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल हुन्छ,’ श्रेष्ठले भने । उनले दुई अध्यक्षबीचको छलफल जारी रहने बताए। सचिवालय बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वान टु वान छलफल गरेका थिए । दुई अध्यक्षबीचको छलफलपछि सचिवालय बसेको थियो। यस अघि गत बुधवार केही बेर बसेर स्थगित थियो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा केही बेर छलफल गरेर बैठक सकिएको थियो तर आजको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली अर्का अध्यक्ष प्रचण्डसंग भेटपछि बैठकमा उपस्थित भएका थिए । सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले एकअर्कालाई आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि विवाद हुँदै आएको छ । गत मङ्गलबारको बैठकमा पनि दुई अध्यक्षबीच चर्काचर्की परेको थियो ।

मङ्गलबारको बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको हो । मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको थियो ।

एक–अर्काप्रति निकै संगीन आरोपसहित दुई अध्यक्षले प्रस्ताव अगाडि सारेपछि दुवै प्रस्ताव कसरी टुंगाउने भन्नेमा दुवै समूहमा आ–आफ्ना बुझाई छन् । औपचारिकरुपमै आएकाले दुवै प्रस्तावमाथि अब मंसिर १६ को सचिवालय छलफल सुरु भएको थियो ।

‘विधि पद्धतिको नाममा अहिले बहुमत–अल्पमत महाधिवेशन नभएसम्म म मान्दिनँ । विधिबाट पार्टीलाई चलाउने हो भने महाधिवेशनमा पुर्‍याउँ । बहुमत र अल्पमत गर्ने हो भने २०७५ जेठ २ गतेमा फर्किउँ,’ शनिवारको बैठकमा अध्यक्षओली आफ्नो भनाई राखेका थिए । प्रधानमन्त्री ओलीले त अध्यक्ष प्रचण्डको प्रस्तावलाई आरोपपत्र भन्दै सचिवालयबाटै खारेजको माग गरेका थिए । मूलत – भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली गम्भीर नभएको आरोपसँगै नेकपामा पछिल्लो विवाद जन्मेको हो । विवाद बढ्दै जाँदा बैठक बोलाउने विषयमा समेत मतभेद भएपछि कार्तिक २२ मा अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरु वरिष्ठ नेताद्धय खनाल, नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको माग गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई लिखित पत्र बुझाएका थिए ।

पाँच सदस्यको पत्रको प्रधानमन्त्री ओलीले मंसिर २५ मा जवाफ लेख्नुभएको थियो। आफुलाई सम्बोधन र अन्य सदस्यलाई बोधार्थ दिएर प्रधानमन्त्री ओलीले लेखेको पत्रको अध्यक्ष प्रचण्डले २८ कात्तिकको सचिवालय बैठकमा जवाफी पत्र बुझाएका थिए । त्यसै दिन नै अध्यक्ष प्रचण्डलेले १९ पेजको राजनीतिक प्रस्ताव पेस गरेपछि अर्को सचिवालय बैठक मंसिर ३ का लागि तय भएको थियो ।

मंसिर ३ को बैठकमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डको पत्रको जवाफ लेख्न दस दिनको समय मागेपछि मंसिर १३ सम्मका लागि बैठक स्थगित भएको थियो । त्यसैअनुसार शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले ३८ पेजको जवाफी प्रस्ताव पेस गर्नुभएको थियो । यसरी पत्रचारबाट सुरु भएको विवाद राजनीतिक प्रस्तावसम्म पुगेको छ । अब अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेस हुने भएको छ । ‘पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘दुवै अध्यक्षको प्रतिवेदन पनि स्थायी कमिटीमा प्रस्तुत हुन्छ ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board