नेकपा बैठक बालुवाटारमा बस्दै, शोक प्रस्ताव पारित गरेपछि बैठक स्थगित हुने

काठमाडौं, २८ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । गएको मंसिर २१ मा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।

दिउँसो एक बजे बोलाइएको बैठकमा शोक प्रस्ताव पेश हुनेछ । नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ । पूर्व राजदूत एवम् पूर्व सांसद लामाको गएको मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो । बैठकको अर्को मिति भने शोक प्रस्ताव पारित भएपछि तय हुनेछ । एक नेताका अनुसार, शोक प्रस्ताव पारित भएपछि बैठक नियमित कार्यसूची तर्फ नबढाउने प्रचलन छ ।

संसद र पार्टी कमिटीहरुमा हुँदै आएको प्रचलनअनुसार, आजको बैठक शोक प्रस्ताव पारित भएसँगै स्थगित हुनेछ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सचिवालय बैठकमा आरोप–प्रत्यारोप पत्रको दोहोरी नै चलेपछि पार्टी विवाद स्थायी कमिटीमा पुगेको छ ।

बैठकको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रको संकटबारे छलफल गर्नु नै स्थायी कमिटी बैठकको कार्यसूची रहेको जनाएका थिए । स्थायी कमिटी उदघाटनमा अनुपस्थित रहँदै दुई पन्ने पत्र लेखेका ओली आजको बैठकमा सहभागी हुने उनी निकट नेताहरुले बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board