लात्कार गर्ने अभियुक्तलाई १९ वर्ष कैद

सप्तरी, २ पुस । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना तिराउने र क्षतिपूर्ति भराउने फैसलासमेत गरेको हो । जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले आरोपितलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ वर्ष कैद, अपहरण तथा शरीर बन्धकतर्फ चार वर्ष आठ महिना कैद र ४६ हजार ६४६ जरिवाना तथा थप सजायतर्फ छ वर्ष आठ महिना कैद र रु ६६ हजार ६६६ जरिवाना तोकेको अदालतले जनाएको छ ।

आरोपितले पीडितलाई एकुमष्ठ रु ५० हजार क्षतिपूर्तिसमेत भर्नुपर्ने फैसला भएको छ । कैदतर्फ सबैभन्दा बढी जबर्जस्ती करणीमा आठ वर्ष कैद सजाय भुक्तान गरेपछि अपहरण तथा शरीर बन्धकतर्फको सानो कैद भोग्नु नपर्ने तर थप सजाय भने भोग्नुपर्ने जिल्ला अदालतले जनाएको छ । आरोपितसमेत बालबालिका भएकाले दुई तिहाइ कैद सजाय हुने तर जरिवाना र क्षतिपूर्ति भने तिर्नुपर्ने ठहर भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जनाए ।

आरोपितले ०७५ मङ्सिर २५ गते गाउँघरबाटै बालिकालाई अपहरण गरी सुनसरीको इटहरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०७५ पुस ३ गते उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीले आरोपितलाई ०७५ पुस ४ गते पक्राउ गरेको थियो । पक्राउ परेका आरोपितलाई सप्तरी जिल्ला अदालतले ०७५ पुस २८ गते बाल सुधारगृहमा पठाउने आदेश गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board