आज स्थायी कमिटी बैठक : आफ्नै मृत्युपत्रमाथिको छलफल (बैठक) मा म आउन मिल्दैन – प्रधानमन्त्री

काठमाडौं, ५ पुस ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरे पनि सहमति भैसकेको छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो अडानमा लचिलो नभएका कारण आजको बैठकमा विवाद समाधान हुने संभावना भने कम रहेको छ ।

शुक्रवार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७६ जेठमा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालुवाटार पुगेका थिए । प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफलमा रहेका ओलीले प्रचण्डलाई बाहिर करिब दुई घण्टा कुराए ।

त्यसअघि पनि ओलीलाई भेट्न जाँदा बारम्बार कुर्नुपरेका प्रचण्डले आफ्नो सचिवालयका सदस्यहरूसँग भनेका थिए, ‘केपीजीले सारै अपमान गर्नुभयो । तीन–चार चोटि नै भयो, घण्टौं बाहिर कुराउनुहुन्छ ।’ ओली प्रधानमन्त्री बनेयता उनलाई भेट्न प्रचण्ड तीन सय चोटिभन्दा धेरै बालुवाटार पुगेका छन् । शनिबार भने दृश्य बदलियो, ओली स्वयं दाहाल निवास खुमलटार पुगे ।

प्रधानमन्त्री भएयता ओली प्रचण्ड निवास खुमलटार गएको यो दोस्रो पटक हो । यसअघि २०७५ मंसिरमा दाहालका छोरा प्रकाशको पहिलो स्मृतिसभामा सहभागी हुन खुमलटार गएका थिए । शनिबार भने पार्टीभित्र संकटमा परेपछि त्यसलाई पार लगाउने उपायको खोजीमा उनी पुगेका हुन् । करिब एक घण्टा बस्दा अध्यक्षद्वय ओली र दाहालबीच पुरानै विषयमा रस्साकसी भयो । दुवै अध्यक्षहरूले आफूनिकट नेताहरूलाई दिएको जानकारीअनुसार शनिबारको संवाद झन् तिक्त बन्यो । भेटमा ओलीले दाहाललाई आफूमाथि लगाइएको ‘लाञ्छनायुक्त’ पत्र फिर्ता लिन फेरि पनि आग्रह गरेका थिए । दाहालले दुवै प्रस्ताव कमिटीमा छलफलका क्रममा रहेकाले त्यहीं टुंगो लगाउने बताएका थिए ।

‘त्यसो भए म बैठकमा आउँदिनँ,’ ओलीले प्रचण्डलाई भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘आफ्नै मृत्युपत्रमाथिको छलफलमा म आउन मिल्दैन ।’ प्रचण्ड र ओलीबीच प्रस्ताव फिर्ता लिनेनलिने विषयमा विवाद चलिरहेका बेला उपाध्यक्ष वामदेव गौतम बैठक कक्षमा छिरेका थिए । गौतमलाई दाहालले बिहान साढे ११ बजेको समय दिएको भए पनि उनी केही छिटो खुमलटार पुगेका हुन् । गौतम छिर्नेबित्तिकै छलफल उनकै विषयमा केन्द्रित भएको निकट नेताहरूको भनाइ छ ।

ओली, दाहाल र गौतमबीच कुराकानी चल्दाचल्दै वरिष्ठ नेता माधवकुमार नेपाल खुमलटार पुगे । उनलाई अध्यक्ष दाहालले १२ बजे बोलाएका थिए । नेपाल पुगेपछि ओली निस्किएर सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापालाई भेट्न उनकै निवास पुल्चोक पुगे ।
अध्यक्षद्वयका छुट्टाछुट्टै प्रस्तावमाथि नै छलफल चलाउने एजेन्डासहित आइतबार स्थायी कमिटी बैठक बस्ने भएपछि हतासिएका ओलीले पछिल्लो माहोल बुझ्न घरदैलो गरेको विश्लेषण नेकपा वृत्तमा छ ।

प्रचण्ड र थापा निवासको भेटघाटपछि बालुवाटार पुगेका ओली साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका थिए । गत १ गतेको स्थायी कमिटी बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको भए पनि प्रधानमन्त्री ओलीले फिर्ता गर्ने तयारी गरेका छैनन् । उनले पार्टीभित्र सहमतिको वातावरण नबने आफू अध्यादेश फिर्ता लिन बाध्य नहुने जवाफ प्रचण्डलाई दिएको बैठक स्रोतको भनाइ छ । त्यसो हुँदा आइतबार बस्ने स्थायी कमिटी बैठकमा पनि अध्यादेशकै विषयमा छलफल हुन सक्ने नेताहरू बताउँछन् । नेकपाका दुवै पक्षका नेताहरूको छलफल र तयारीअनुसार स्थायी कमिटी बैठक लम्बिने सम्भावना छ । प्रचण्ड–नेपाल पक्षधर नेताहरू अहिले पार्टीले केही निर्णय गर्दा संसद् नभएकाले अध्यादेशमार्फत ओलीले थप कदम चाल्न सक्ने हुनाले बैठक लम्ब्याउने मनस्थितिमा पुगेका हुन् । अध्यक्ष प्रचण्डले शुक्रबार प्रदेश १ का आफूपक्षीय नेताहरूको भेलामा अबको १०१२ दिन नेकपाका लागि निर्णायक हुने भन्दै यसको संकेत गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board