एकल महिलाका पीडा : ‘व्यवस्था बदलिए, अवस्था उस्तै’

काठमाडौं, ९ पौष । द्वन्द्व प्रभावित एकल महिलाले व्यवस्था बदलिए पनि अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन् । मानवअधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेशले बुधबार यहाँ आयोजना गरेको सङ्क्रमणकालीन न्यायका लागि द्वन्द्व प्रभावित महिलाको पहुँच विषयक प्रदेशस्तरीय गोष्ठीमा सहभागी महिलाले न्याय पाउन नसकेको गुनासो राखे ।

बागलुङकी द्वन्द्वपीडित जशोदा शर्माले विसं २०५८ मा बेपत्ता भएका श्रीमान्को बाटो हेर्दाहेर्दैै आफूले १९ वर्ष बिताएको भोगाइ पोखे । “राति कतै ढकढक आवाज सुन्दा पनि श्रीमान् नै आएको हो कि भन्ने हुन्छ, बेखबर श्रीमान्को सम्झनामा १९ वर्ष बित्यो, यथार्थ कहिले आउँछ ? भोग्नेको पीडा सुन्नेले अनुभूति गर्न सक्लान् र ? ” उनले बेपत्ता परिवारको समस्याका लागि जुनै आयोग बने पनि पीडितलाई न्याय दिन नसकेको गुनासो गरे ।

नवलपुरकी द्वन्द्वपीडित एकल महिला अमृृता सिग्देलले सत्य निरुपण आयोगले पीडितका आवाज सुन्न नसकेको बताए । नामका लागि गठन हुने र सेवा सुविधा मात्र लिने आयोगले पीडितको पक्षमा काम गर्न नसक्ने उनको जिकिर थियो ।

पर्वतकी द्वन्द्वपीडित एकल महिला मनरुपा शर्माले विसं २०६१ मा श्रीमान् मारिएको पीडा सुनाउँदै न्याय नपाएसम्म शान्तिको अनुभूति हुन नसकेको गुनासो गरे । उनले मानवाधिकार उल्लङ्घनका कुरा उठाउँदा शान्ति प्रक्रिया भत्किन्छ भन्ने मानसिकताले द्वन्द्वपीडितले न्याय नपाएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले विगतका तुलनामा महिला सशक्त हुँदै अधिकारका लागि एकताबद्ध हुन थालेको बताए । “हिजोभन्दा आज महिलाहरुले एकताबद्ध भएर अधिकारका लागि आवाज उठाएका छन् । अब आउने दिनमा अझै सशक्त हुनुहोस्”, उनले भने ,“महिलालाई राज्यले बिनाधितो रु १५ लाख ऋण सस्तो ब्याजमा दिएको छ । उद्यमशीलताको बाटोमा महिला आउने सके हिंसा र विभेदको अन्त्य हुँदै जाने छ । ”

कार्यक्रममा सङ्कल्पका निवर्तमान क्षेत्रीय संयोजक दुर्गा न्यौपानेले एकल महिलाले रातो लगाउँदा झस्किने समाज अहिले परिवर्तनोन्मुख हुँदै गएको धारणा राखे । उनले समातामूलक र न्यायिक समाजका लागि निरन्तर आवाज उठाएर समाजमा जकडिएको कथित मूल्यमान्यताको अवशेषलाई उखेलेर फाल्न एकल महिलाले आत्मबल बलियो बनाउनुपर्र्ने धारणा राखे ।

राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत टङ्क खनालले आत्मसम्मानपूर्वक बाँच्ने मानवअधिकारमैत्री समाज निर्माणमा सबै जुट्नुपर्ने धारणा राखे । कार्यक्रमा एकल महिला समूह गण्डकीका अध्यक्ष प्रमिला तझ्याले एकल महिला सामाजिक, आर्थिक, मानसिक, सांस्कृतिक विविध हिंसा र विभेदमा परेको उल्लेख गर्दै उनीहरुलाई मनोपरामर्शसहित आत्मनिर्भर बनाउन सीपसँग जोडेर लाग्नुपर्ने बताए । उनले कोभिड–१९ का कारण सिर्जित अवस्थाले पनि एकल महिलाले थप समस्या झेल्नुपरेको छ भने ।

समूहका जिल्ला अध्यक्ष जुना केसीले एकल महिलाको अवस्था बदल्न समूहले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । इन्सेक गण्डकीका कार्यक्रम संयोजक सवनम शर्माले द्वन्द्व प्रभावित र एकल महिलाका लागि सङ्क्रमणकालीन न्यायका लागि द्वन्द्व प्रभावित महिलाको पहुँच विषयमा अहिलेसम्म भएका अभ्यासका बारेमा कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा कोसिस नेपालका मनोपरामर्शकर्ता जमुना शर्मा, नागरिक समाज सञ्जालका अध्यक्ष विष्णु बराल, पोखरा वडा नं ३० का जनप्रतिनिधि रमा नेपालीले द्वन्द्वपीडित एकल महिलाका अवस्थाका बारेमा आआफ्नो धारणा राखे । सो कार्यशाला गोष्ठीमा प्रदेशका आठ जिल्लाका ५५ जनाको सहभागिता रहेको समूहका प्रदेश सचिव मीना अधिकारीले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board