बेलायतबाट फर्किएका ६ जनामा देखियो कोरोनाको नयाँ प्रकार

काठमाडौं, १४ पौष । भारतमा पनि कोरोना भाइरसको नयां प्रकार भेटिएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बेलायतबाट फर्किएका ६ जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेको हो । बेलायतबाट देखिएको नयां प्रकारको कोरोना भाइरसका संक्रमित बेंगलोर, हैदराबाद, पुनेमा देखिएका हुन् । संक्रमित सबैलाई आइसोलेसनमा निगरानीमा राखिएको छ साथै संक्रमितको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ अघि बढाइएको अधिकारीहरुले बताएका छन् ।

मन्त्रालयका अनुसार पोजिटिभ स्याम्पललाई जिनोम सिक्वेन्सिङका लागि प्रयोगशालामा पठाइएको छ । पछिल्लो महिनामा मात्रै बेलायतबाट ३३ हजार यात्रु भारत फर्किएका छन् । तीमध्ये १ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ती सबैलाई नयां प्रकारको कोरोना देखिएको भने होइन । भारतले बेलायतबाट आउने सबै उडानमाथि प्रतिबन्ध लगाएको छ । बेलायतमा सेप्टेम्बरमा देखिएको यो भाइरस डेनमार्क, नेदरल्यान्ड्स, अस्ट्रेलिया, इटाली, स्विडेन, स्विजरल्यान्ड, जर्मनी, क्यानडा, जापान, लेबनान, सिंगापुर, दक्षिण कोरियालगायतका विश्वका अधिकांश देशमा पुगिसकेको छ ।

बेलायतमा भएको अध्ययनहरूले नयां कोरोना भाइरस पहिले देखिएको भाइरसभन्दा ७० प्रतिशतभन्दा बढी छिटो सर्ने देखाएको छ । छिटो सर्ने भए पनि बिरामीको मृत्यु हुने दर बढी छ या छैन भन्ने अझै खुल्न सकेको छैन । साथै पहिलेको कोरोना भाइरसका लागि तयार भएको भ्याक्सिनले पनि काम गर्छ कि गर्दैन भन्ने अध्ययन हुनै बांकी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board