जनताको भावना कुण्ठित हुन पुगेकोमा चिन्तित छौँ : उपप्रधामन्त्री पोखरेल

काठमाडौं,२५ पौष । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको भावना कुण्ठित भएकोमा चिन्तित रहेको बताए ।नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिका सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज नेकपा मकवानपुरको जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपाभित्रको प्रचण्ड–माधव समूहले जनभावनालाई बेवास्ता गरेको आरोप लगाए ।

उनले जनताको पाँच वर्षका लागि केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने चाहनालाई अर्को पक्षबाट सम्मान नगरिएको दाबी गरे । “नेकपा अध्यक्ष प्रचण्डको अन्तरविरोध सिर्जना गर्दै जाने र अर्का नेता माधव नेपालको पदबाहेक बस्नै नसक्ने कुण्ठाको कारण नेकपाभित्र विवाद सिर्जना भएको हो”,उनले भने , “कुर्सीको आकार हेर्ने, घनचक्कर पैदा गर्ने, इष्र्या र डाह बोक्नेले महाधिवेशनबाट अध्यक्ष र निर्वाचनबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको हाइहाइ र लोकप्रियताबाट कुण्ठित भएर आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने, राष्ट्रपतिलाई महाअभियोग लगाउने खेल खेलेका कारण प्रधानमन्त्रीले संसद् विघटन गर्नुपरेको हो”, पोखरेलको भनाइ थियो ।

कार्यक्रममा नेकपा वाग्मती प्रदेश सहईन्चार्ज तथा केन्द्रीय सदस्य काशीनाथ अधिकारीले केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी नै आधिकारिक नेकपा भएको र यसै नेकपाले चुनाव चिह्न सूर्य प्राप्त गर्ने बताए । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रजातन्त्रको सुन्दरता भनेको निर्वाचन भएको उल्लेख गर्दै निर्वाचनबाट जनताले गर्ने फैसलालाई सबैले स्वीकार गर्न तयार हुनुपर्ने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board