नेकपाका दुवै समूह आ–आफ्नै रणनीतिमा…

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा चलिरहँदा नेकपाका दुवै समूह आ–आफ्नै रणनीतिमा लागेका छन् । केपी शर्मा ओली नेतृत्वको समूह निर्वाचनको तीव्र तयारीमा लागेको छ भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुुमार नेपाल नेतृत्वको समूह भने संसद विघटनविरुद्ध निरन्तर आन्दोलनमा छ । पार्टी विभाजनले वैधानिकता पाउन मात्रै बाँकी रहेको नेकपाका जनवर्गीय संगठनहरुको भेला पनि छुट्टाछुट्टै रुपमा भइरहेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक एवम् व्यवहारिक फुटले वैधानिकता नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल दुई खेमाको छुट्टा–छुट्टै जनवर्गीय संगठनहरुको राष्ट्रिय भेला पनि निरन्तर सम्पन्न हुँदै आएको छ । ओली नेकपाले तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने र प्रचण्ड–माधव खेमाका नेकपाले प्रतिनिधिसभा पुनर्स्थापना भएरै छाड्ने ठोकुवा गर्दै आएको छ । प्रचण्ड–नेपाल नेकपाले आगामी वैशाख १७ र २७ गते कुनैपनि हालतमा निर्वाचन हुन नसक्ने दावी गर्दै आएको छ ।

निर्वाचनमै नजाने प्रचण्ड–नेपाल नेकपाले निर्वाचन आयोगमा किन सूर्य चिन्हको दाबी गरिरहेको छ त ? केपी शर्मा ओली लगायतलाई कारबाही गरेकोे लगायत पार्टीमा हेरफेर भएको सम्बन्धमा आयोगलाई पत्र बुझाउनुपर्ने व्यवस्था रहने प्रचण्ड–नेपाल खेमाका नेता बेदुराम भुषाल बताउँछन् ।

प्रचण्ड–नेपाल खेमाले अध्यक्ष पदबाट कारबाही गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्ष नपुग्दै संसद विघटन गर्नु असंवैधानिक भएको उनीहरुले पनि बताएका छन् । विभिन्न जिल्लाहरुबाट काठमाडौंको भेलामा आएका नेता तथा कार्यकर्ताहरुले पनि गाउँठाउँमा निर्वाचनको कुनै तयारी नभएको र निर्वाचन भइहाले अवस्था निकै चुनौतीपूर्ण रहने भन्दै चिन्ता जनाएका छन् । त्यसो त, केही समयअघिसम्म पुर्नमिलनको झिनो आशा पाल्दै आएका नेकपाका नेता तथा कार्यकर्ताहरुले अब भने तत्काल पार्टी एकीकरणको सम्भावना नरहेको बताउँदै आएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board