राष्ट्रिय स्वाधीनताका पक्षमा एकजुट हुन गृहमन्त्रीको आह्वान

काठमाडौं, २३ माघ । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय स्वाधीनताका पक्षमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् । नेकपाको आज यहाँ भएको बृहत् सभालाई सम्बोधन गर्दै उनले अस्थिरता र अवसरवादको विरुद्ध तथा राष्ट्रिय स्वाधीनताका पक्षमा सबै एकजुट हुन आह्वान गरे । उनले जनतालाई आन्दोलित गरेर मात्र संविधानको रक्षा गर्न सकिने जनाउँदै निर्वाचनका माध्यमबाट देशलाई समृद्धि र स्थायित्व दिइने तथा समाजवादका दिशामा मुलुकलाई अगाडि बढाइने बताए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा का सचिवालय सदस्य थापाले पार्टी अध्यक्षलाई अपदस्थ र विस्थापन गर्ने, दुई तिहाइको सरकारलाई हटाउने र राष्ट्रपतिको मानमर्दन गर्नेहरुले षड्यन्त्र गरेको आरोप लगाउँदै भने “आजको असाधारण परिस्थिति सिर्जना हुनुको विषय नेतृत्वलाई अपदस्थ र विस्थापित गर्ने षड्यन्त्रसँग जोडिएको छ”, उनले भने, “यो कुरालाई हामीले ठीक ढङ्गले बुझेनौँ भने वर्तमान असाधारण परिस्थितिलाई ठीक ढङ्गले समाधान गर्न सक्दैनौँ ।” उनले प्रतिगामी अवसरवादी तत्वले नेतृत्वलाई विस्थापित गर्न सबै प्रकारका भ्रम र षड्यन्त्रको सहारा लिइरहेको आरोप पनि लगाए ।

जनतालाई आन्दोलित गरेर मात्र राजनीतिक र संविधानको रक्षा गर्न सकिने उनको भनाइ थियो । “जनतालाई आन्दोलित गरेर मात्र नेतृत्व, व्यवस्था र राजनीतिक उपलब्धिको रक्षा गर्न सकिन्छ”, उनले भने, “यही उद्देश्यका साथ हामीले एउटा नयाँ आन्दोलनको शुरु गरेका हौं । आमनिर्वाचनको माध्यमबाट आन्दोलनलाई अगाडि बढाएका छौँ ।”उनले कम्युनिष्ट आन्दोलनलाई अवसरवादीले फुट ल्याएको जनाउँदै अब फेरि एकजुट बनाउन जनताले मात्र सक्ने बताए । जनतामा गएर फेरि कम्युनिष्ट आन्दोलनलाई नयाँ धु्रवीकरण र नयाँ एकीकरण गर्नका लागि देशव्यापीरुपमा अभियान चलाइएको उनको भनाइ थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board