प्रदेश १ को प्रदेश सभा बैठक आज, अविश्वासको प्रस्ताव पेश गर्ने तयारी

काठमाडौँ, २५ माघ । प्रदेश १ को प्रदेश सभाको बैठक आज बस्न लागेको छ । १९ दिनपछि बस्न लागेको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पेस गर्ने तयारी भएको छ । प्रदेश सभा सचिवालयका अनुसार अविश्वास प्रस्तावबाहेक प्रदेश सभामा बिजनेस छैन । आज दिउसो २ बजे प्रदेश सभा बैठक बस्ने प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बताए ।

प्रदेश सभा बैठकमा अविश्वास प्रस्ताव पेश हुने कार्यसूचि बनाउन लागिएको छ । यसका लागि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको छ । अब मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव अगाडि बढाउनुपर्ने नेकपा प्रचण्ड नेपाल पक्षका सांसद इन्द्रबहादुर आङ्वोले बताए ।

नेकपा (ओली) पक्षका सांसद भने अहिले अविश्वास प्रस्ताव अघि बढाउन नहुने पक्षमा छन् । नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नेकपा औपचारिक रुपमा विभाजन नभएकाले अहिले प्रक्रिया अघि बढाउन नहुने तर्क गरे । कांग्रेस पनि अविश्वास प्रस्ताव अघि बढाउनुपर्ने पक्षमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board