हिमपहिरोका कारण भारतमा २६ को मृत्यु, १८० अझै बेपत्ता

नयाँ दिल्ली, २७ माघ । भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर मङ्गलबारसम्म २६ जनाको शव भेटिएको छ ।

हिमपहिरोका कारण अरु १८० भन्दा बढी अझैपनि हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । बेपत्ता भएका अधिकांश व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् । सरकारी अधिकारीहरुले बेपत्ता भएका व्यक्तिहरुको खोजी तथा उद्धारकार्य जारी राखिएको पनि बताएका छन् । मृतक तथा बेपत्ता भएकाहरु भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार, झारखण्डका रहेको जनाइएको छ । केही व्यक्ति भने नेपाली पनि हुन सक्ने अधिकारीहरुको भनाई छ ।

दुई ओटा जलविद्युत परियोजना बनाइरहेको ठाउँमा हिमपहिरो गएको हो । आइतबार आएको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ । स्थानीयबासी ओम अग्रवालले तिब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाई छ । धेरै जना उद्धारकर्मीहरु सोमबार बिहानैदेखि खटिएका छन् । राष्ट्रिय र राज्य उद्धार टोलीहरु, सेना र प्रहरीका टोलीहरु घटनास्थलमा खटिएका छन् ।

भारतीय अधिकारीहरुले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर यो हिमताल बिस्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ । विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र विस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिराहरु बढी नै जान थालेको विज्ञहरुले औंल्याएका छन् । सन् २०१३ मा आएको बाढीले ६ हजार व्यक्तिको ज्यान गएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board