ओलीलाई प्रचण्डको चेतावनी : १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न नपरोस्

काठमाडौं,२८ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउने बताए । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा गरेको बृहत विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने बताए । उनले विरोध प्रदर्शन र जनसभा कस्तो हुन्छ देख्नुभयो ? भनी ओलीलाई प्रश्नसमेत गरे । प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेकोसमेत प्रचण्डले आरोप लगाए । उनले प्रतिगमनविरुद्धको आन्दोलनमा संगै हातेमालो गर्न नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई आव्हान समेत गरे ।

सभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई धम्क्याएको आरोप लगाए । अध्यक्ष नेपालले ओलीले आयोगमा पुगेर म नै पहिलो अध्यक्ष हु“, आधिकारिकताको विवादमा पस्न पाउंदैन भनेर संवैधानिक निकायलाई धम्क्याएको भन्दै आपत्ति जनाए । पार्टीको विधान, दस्तावेज, सकुर्लर र निर्णय हेर्न आग्रह गर्दै उनले त्यसमा पनि शंका छ भने ४ सय ४१ जना केन्द्रीय सदस्यलाई बोलाएर एक–एक व्यक्तिको टाउको गने हुने बताए । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा एउटै पार्टीमा नाम, चिन्हबारे विवाद भएमा बहुमतको निर्णय स्वीकार्य हुन्छ प्रष्ट लेखिएको भन्दै अध्यक्ष नेपालले त्यसलाई हेक्का राख्न आयोगलाई आग्रह गरे ।

विरोध सभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसकेको बताए । खनालले ओलीलाई माक्र्सवादमा विश्वास हुन छाडेर पशुपतिनाथको मूर्तिमाथि विश्वास हुन थालेको बताए । ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसकेकाले अब पशुपतिनाथमा गएर संकल्प पूजा गर्ने अवस्थामा पुगेको खनालको जिकिर छ । उनले अहिलेको लडाइ“ नेकपाको दुई गुटको नभई ओलीको प्रतिगामी कदमविरुद्ध भएको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board