‘कंश’ मामा जसले पैसाको लोभमा आफ्नै भान्जाको फिरौती मागे

काठमाडौं । आफ्नै भाञ्जा अपहरणको गरेर एक करोड फिरौतीको रकम माग गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनको आयोजना गरी नगराइन नगरपालिका–६ लग्मा बस्ने रमेश दासको सात वर्षीय छोरा चन्दन दासको अपहरणमा संलग्न रहेको आरोपमा महोत्तरी पिपरा गाउँपालिका–७ निवासी रामरतन दास भनेर चिनिने २० वर्षीय लक्ष्मेश्वरकुमार दासलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

महोत्तरीको साबिक दनौली–७ र अहिलेको पिपरा गाउँपालिका–७ घर भई हाल जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका–७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरमा डेरा गरी बस्ने नातामा नाबालकका मामा पर्ने दासले आफ्नै कोठामा बन्धक बनाई राखिएको अवस्थामा बालकलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । फोन गरी फिरौती माग गर्ने निज नाबालकको मामा दासलाई हिरासतमा लिई थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

शनिबार दिउँसो १ बजेदेखि हराइरहेका बालकको खोजतलास हुँदै गर्दा बेलुकी ५ बजेको समयमा मोबाइलबाट फोन गरी बालकको आमासँग रु एक करोड फिरौती रकम माग गरिएको कुरा बालकका अभिभावकले टेलिफोनमार्फत सीमा प्रहरी चौकी लग्मा जटही धनुषामा खबर गर्ना साथ प्रहरी अनुसन्धानमा लागेको प्रहरी उपरीक्षक रानाभाटले जनाए ।

प्रहरी उपरीक्षक रानाभाटका अनुसार प्रदेश २ प्रहरी कार्यालयको प्राविधिक टोलीको सहयोगमा धनुषा प्रहरीले बालक अपहरणमा परेको ७ घण्टाभित्रै सकुशल उद्धार गर्न सफल भएको हो । अपहरणमा संलग्न बालकका मामासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्ने अन्य दुईजनाको नाम खुलाइएको छैन । घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board