‘जनताको जीत’ भन्दै नेकपा अध्यक्षद्वय ‘प्रचण्ड–नेपालले बाँडे खुशी

काठमाडौँ, ११ फागुन । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेको खुशीयालीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पत्रकार सम्मेलन गरेका छन् ।

दुवै नेताले संसद पुनर्स्थापनाको फैसलालाई जनताको जीत भनेका छन् । अध्यक्ष नेपालले सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला स्वागतयोग्य भएको बताउँदै जनताको जित भएको फेसबुकमा समेत लेखेका छन् । सर्वोच्चको निर्णय आएको केही समयमा नै उनले सामाजिक सन्जालमा यस्तो प्रतिक्रिया दिएका हुन् । ‘प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो ।,’ उनले लेखेका छन् ।उनले थपेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु । सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै ठाउँ–ठाउँमा दीप प्रज्ज्वलन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुशीयालीमा नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील लगायतले दीप प्रज्ज्वलन गरेका हुन् ।उनीहरुले सम्मानित अदालतले स्वागत योग्य फैसला गरेको बताउँदै जनताको जीत भएकोमा नाराबाजी गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board