आज प्रधानमन्त्री ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्दैछन् ।

सरकारी वार्ता टोली र विप्लव समूहबीच बिहीवार ३ बुँदे सहमति भएसँगै सोही विषयमा विस्तृत जानकारी दिन आज विशेष समारोहको आयोजना गर्न लागिएको हो ।

राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले दिउँसो २ बजे संयुक्त रुपमा सम्बोधन गर्नेछन् ।

बिहीवार भएको सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषय रहेका छन् ।

यसअघि बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board