नयाँ सरकार दिन नसके पुनः संसद विघटन हुनसक्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थिति कता लैजाने भन्ने निर्णायक शक्ति कांग्रेस बनेको बताए । पार्टीले आज रुपन्देहीको भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले संसद विघटन बदर गर्ने सर्वोच्चको निर्णय स्वागतयोग्य रहेको बताउदै अब बल कांग्रेसको कोर्टमा आएको बताए । अध्यक्ष थापाले अपवित्र गठबन्धन गर्ने हो भने त्यसको मूल्य कांग्रेसले लामो समयसम्म चुकाउनुपर्ने तर्क गरे ।

उनले अब शुरु हुने संसद अधिवेशनले नयां सरकार दिन नसके पुनः संसद विघटन हुने र ताजा जनादेशमा जाने अवस्था आउन सक्ने औंल्याए । सर्वोच्चले संविधानको धारा ७६ (१) को सरकारले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भनेर संसद पुनस्र्थापना गरिदिए पनि अब ७६ (७) अनुसार विघटन हुने र ताजा जनादेशको विकल्पमा जानुपर्ने उहाको तर्क छ । सर्वोच्चको फैसलापछि मुलुकमा अस्थिरता निम्तिने संकेत देखिएको भन्दै उनले यसले प्रजातान्त्रिक प्रणालीलाई पनि कमजोर बनाउने जिकिर गरे ।

अध्यक्ष थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु स्वागतयोग्य कदम भएको बताउंदै हतियार तत्काल बुझाउनुपर्ने बताए । पत्रकारको प्रश्नमा थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वास प्रस्ताव दर्ता भएपछि मात्रै त्यसबारे पार्टीले निर्णय लिने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board