प्रधानमन्त्रीबाट राजीनामा नदिने, विश्वासको मत पनि नलिने संसदीय दलको निष्कर्ष

काठमाडौँ, २३ फागुन । नेकपा ओली समूहले आफ्नो पक्षमा बहुमत सांसद जुटाएर अविश्वास प्रस्ताव विफल पार्ने रणनीति अघि सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबार हुने बैठकमा अविश्वास प्रस्ताव आए डटेर सामना गर्ने शनिबार बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा आफू पक्षका सांसदहरूलाई सुनाएका थिए ।

ओलीले नेकपा दाहाल–नेपाल समूहका सांसद आफ्नो पक्षमा आउने दाबी गर्दै प्रतिनिधिसभामा अविश्वास प्रस्ताव आएमा डटेर सामना गर्ने जानकारी दिए । भ्रममा परेर र बाटो बिराएर गएका सांसद आफ्नो पक्षमा आउने उनले दाबी गरे । उनले प्रचण्ड–नेपाल समूहका नेताहरूलाई इंगित गर्दै सडकमा गएर दलको नेता आफैं हुँ भन्नुको अर्थ नभएको बताए । उनले कानुनी रूपमा आफूहरू ठीक ठाउँमा रहेको तर्क गर्दै कतिपय नेता र सांसद नियत बिग्रेर र भ्रममा परेर सडकमा गएको बताए । उनले बाहिर रहेका सांसद तथा नेताहरू छिट्टै फर्कने दाबी गरे ।

प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभामा राजीनामा माग्ने बताइरहेका बेला ओलीले अविश्वास प्रस्तावको सामना गर्ने बताएका हुन् । उनको यो भनाइले आफ्नै पक्षमा बहुमत देखाउन खोजेको प्रस्ट भएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए । कतिपयले प्रधानमन्त्री ओलीले नै विश्वासको मत लिनुपर्ने तर्क अघि सारेका छन् तर उनी आफैं विश्वासको मत लिने पक्षमा नरहेको देखिएको छ । करिब सवा घण्टा सञ्चालन भएको बैठकमा ओलीले सांसदहरूलाई प्रतिनिधिसभामा भूमिका प्रभावकारी बनाउन निर्देशन दिए ।

नेकपा राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार ओलीले राजनीतिक विषयमा कम समय बोले पनि सांसदहरूलाई आफूहरू बहुमतमा रहेकाले उत्साहित हुन भनेका थिए । बैठकमा ओलीले आफ्नो समर्थनमा सांसदहरूको संख्या बढ्दै जाने आश्वासन दिए । संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले सञ्चालन गरेको बैठकमा ओलीले मात्र मन्तव्य राखेका थिए । ‘सांसदहरूले मन्तव्य राख्ने कार्यक्रम थिएन,’ भट्टराईले भने, ‘बैठकमा सांसदहरूको उपस्थितिले प्रधानमन्त्रीसहित सबैमा उत्साह थपेको छ ।’

बैठकमा १ सय १५ जना सांसदको उपस्थिति रहेको दाबी गरिएको छ । शुक्रबार भएको दाहाल–नेपाल समूहको बैठकमा पनि सोही संख्याको उपस्थिति रहेको बताइएको थियो । नेकपाका प्रतिनिधिसभामा सभामुखसहित १ सय ७३ र राष्ट्रिय सभामा ५० सांसद छन् । २ सय २४ जनामध्ये वामदेव गौतम, उनकी श्रीमती तुलसा थापा र लालबाबु पण्डित कुनै समूहमा खुलेका छैनन् । प्रतिनिधिसभा सदस्य सानु शिवाको निधन भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना मत विभाजनमा सहभागी हुँदैनन् । त्यस हिसाबले २ सय २१ जनामध्ये बहुमत पुर्‍याउन १ सय ११ जना आवश्यक हुन्छ । त्यसका लागि कुनै पनि पक्षमा नलागेका सांसदको भूमिका निर्णायक हुन सक्ने दुवै पक्षका नेताहरू बताउँछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board