माओबादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ । संसदीय दलको आजको बैठकले नेता देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको नेता वर्षमान पुनले जानकारी दिए । दलको उपनेता र सचेतक भने चयन गर्न बाँकी छ । उनका अनुसार राष्ट्रियसभा संसदीय दलको नेतामा पुनः दिनानाथ शर्मालाई नै चयन गरेको छ ।

बैठकले प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका दुई गरी छ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । हाल नेकपा एमालेमा रहेका उनीहरूसहितका २२ नेतालाई यसअघि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकलेसमेत स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको थियो । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा लाई बदर गरी माओवादी केन्द्र र नेकपा एमाले पार्टी नै कायम रहेको फैसला सुनाएपछि दुवै दल पदाधिकारी चलनमा लागेको छ ।

बैठकले गत फागुन २३ गते सर्वोच्चले गरेको फैसला बेठिक रहे पनि कार्यान्वयन गर्ने निर्णय पनि गरेको नेता पुनले जानकारी दिए । त्यसपछि माओवादी केन्द्रको संसदीय दलको यो पहिलो बैठक हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक कदम चालेको अदालतले फैसला गरिसकेकाले नैतिकरुपमा राजीनामा दिनुपर्ने दलको निष्कर्ष रहेकोसमेत उनले जानकारी दिए ।

बैठकको शुरुआतमा समसामयिक राजनीतिक विषयमा अध्यक्ष दाहालले संक्षिप्तरुपमा जानकारी गराएको थियो । बैठकमा उनले जनता समाजवादी पार्टी र नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने सम्भावना रहेको जानकारी गराएको नेता पुनले बताए । बैठकले दलको विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि कार्यदलसमेत बनाएको जनाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board