विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण काठमाडौंमा, अझै केहीदिन रहने

काठमाडौं – काठमाडौं उपत्यकामा वायु गुणस्तर सूचकांक ९एयर क्वालिटी इन्डेक्स–एक्यूआई० जनस्वास्थ्यका दृष्टिले हानिकारक तहमा पुगेको छ। उपत्यकाका अधिकांश भेगमा एक्यूआई तीन सयभन्दा बढी पुगेको छ।

चितवन, मकवानपुर, ओखलढुंगा, बारा, पर्सालगायत जिल्लामा डढेलो लागेकाले ती भेगबाट धूवाँमिश्रित वायु उपत्यका भित्रिएकाले एक्यूआई खस्किएको विज्ञको बुझाइ छ। भारतको हरियाणा, उत्तर प्रदेशलगायत भेगमा बढेको प्रदूषणको प्रभावसमेत नेपालसम्म देखिएको उनीहरूको ठहर छ।

वायु गुणस्तर बिहीबारको तुलनामा शुक्रबार निकै खस्किएको छ। ललितपुरको भैंसेपाटी, भक्तपुर, काठमाडौंका रत्नपार्क, कीर्तिपुरलगायत भेगमा एक्यूआई बढेको छ। ‘एक सातादेखि निरन्तर रूपमा वायु गुणस्तर खस्किन थालेको छ। शुक्रबार झनै खस्कियो’, वातावरण विभागका सिनियर केमिस्ट शंकरप्रसाद पौडेलले भने।

शुक्रबारको गुणस्तर कुन हदमा पुग्यो भन्ने सुनिश्चित गर्न पछिल्लो २४ घण्टाको समग्र तथ्यांक विश्लेषण गर्नुपर्ने पौडेलले बताए। काठमाडौं उपत्यकामा सबैभन्दा बढी प्रदूषणको मात्रा भैंसेपाटी र आसपासमा रहेको विभागको तथ्यांक छ। बिहीबार सो भेगमा २४ घण्टाको एक्यूआई २३६ थियो। ‘शुक्रबारको मौसमले त्यहाँको एक्यूआई चार सयभन्दा तल नरहेको सहजै अनुमान गर्न सकिन्छ’, विभागका एक अधिकारीले भने।

जनस्वास्थ्यका दृष्टिले एक्युआई ५० देखि सयसम्मलाई सामान्य मान्ने गरिन्छ। तराईका भू–भागबाट बागमती करिडोर हुँदै उपत्यका भित्रिने प्रदूषित वायुले हिजोआज काठमाडौं उपत्यकाको वायु गुणस्तर खस्काएको विज्ञहरूको ठहर छ। एक्युआई दुई सयभन्दा बढी नाघेको अवस्थामा जनस्वास्थ्य अनुकूल मानिँदैन। बिहीबार भक्तपुरमा एक्यूआई २ सय ७ थियो, कीर्तिपुरमा १ सय ९९ र रत्नपार्कमा १ सय ८३ थियो।

प्रि—मनसुनका बेला हुने क्षणिक वर्षा र सक्रिय हुनुपर्ने वायु निष्क्रिय भएकाले अहिले प्रदूषणको मात्रा बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उपत्यकाबाहिर सिमरा र सौराहमा एक्यूआई निकै बढेको वातावरण विभागले जनाएको छ। सिमरामा एक्यूआई ३ सय ४८ र सौराहको २ सय ८२ रहेको विभागको तथ्यांक छ।
हेटौँडा, विराटनगर, जनकपुर, धनगढी लगायतका ठाउँमा पनि हावाको प्रदूषण अत्याधिक बढेको छ । हावाको प्रदूषण मापन सूचक ९एक्यूआई० सबैभन्दा धेरै काठमाण्डौमा देखिएको छ । काठमाण्डौ उपत्यकामा एक्यूआई ३ सय नाघेको छ ।

हावाको प्रदूषणले क्यान्सरसमेत गराउन सक्छ

एक्यूआई ३ सय नाघ्नुलाई स्वास्थ्यका लागि निक्कै घातक मानिने र यस्तो अवस्थामा विपद् घोषणा गर्नुपर्ने वातावरणविद्हरुको भनाइ छ ।

अत्याधिक प्रदूषणमा क्यान्सरजन्य रसायनसमेत मिसिएको हुने भएकाले यस्तो बेलामा छातीको रोगमात्र नभएर क्यान्सरको जोखिमसमेत हुने छाती रोग विशेषज्ञरुले बताएका छन् । प्रदूषणका कणहरु श्वासप्रश्वास नलीको भित्तामा जम्मा भएमा दीर्घकालीन दमलगायत रोग लाग्नुका साथै क्यान्सरको खतरासम्म हुने छातीरोग विशेषज्ञको भनाइ छ ।

उपत्यकाको प्रदूषणमा गाडीको भूमिका ३० प्रतिशत, पूर्वाधार निर्माणको ५३ प्रतिशत र इँटाभट्टाको नौ प्रतिशत रहने गरेको छ । यस्तै बाँकी आठ प्रतिशत उद्योग–कलकारखाना, फोहोर जलाउँदा, घरभित्रको धुवाँ रहने गरेको वातावरण विभागले जनाएको छ । यसअघि गएको पुसमा पनि प्रदूषण निकै बढेको थियो । त्यसबेला पनि प्रदूषणका कारण मानिसहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएको थियो ।

प्रदूषणको असरबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणको असरबाट जोगिन अपिल गरेको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँको वायु प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेको भन्दै घरबाहिर खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने जस्ता काम नगर्न अपिल गरेको हो ।

मन्त्रालयले बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ । मन्त्रालयले फोहर नजलाउन पनि अनुरोध गरेको छ । यस्तै घरबाहिर ननिस्कन, निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गर्न र धुलो, धुँवा उड्ने पेसा, व्यवसाय केही दिनलाई रोक्न र अति आवश्यक नभइ गाडी नचलाउन भनेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board