खोपको प्रभावकारिता कम भयो, कसरी बढाउने सोच्दैछौं : चिनिया विज्ञ

छेन्दु, ३० चैत । चीनका एक जना उच्च सरकारी अधिकारीले आफ्नो देशमा उत्पादन भएका कोरोनाभाइरसविरूद्धका खोपको प्रभावकारिता कम भएको स्वीकारेका छन्।

चाइना सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक गाओ फूले शनिबार दक्षिण पश्चिमी सिचुवान प्रान्तको राजधानी छेन्दुमा आयोजित एउटा कार्यक्रममा बोल्दै खोपको प्रभावकारिता कम भएकाले प्रभावकारिता बढाउन अरू खोप सँग मिसाउनेबारे सोचिरहेको बताए।

ुप्रतिरक्षा प्रणाली बलियो पार्ने प्रक्रियामा हामीले फरक प्रविधिबाट बनेका फरक खोप पनि प्रयोग गर्ने कि भन्नेबारे अहिले औपचारिक रूपमा विचार गर्दैछौं,’ फूले भने।

संसारभरि खोपको प्रभावकारिता कम(बढी हुनु स्वभाविक भएको उल्लेख गर्दै निर्देशक फूले फरक(फरक प्रविधिका खोप लगाउने र एक(अर्को डोजबीचको समय बढाउने हो भने खोपको प्रभावकारिता बढाउन सकिने बताए।

केही समयअघि ब्राजिलमा गरिएको एक अनुसन्धानमा चिनियाँ कम्पनी सिनोभ्याकले बनाएको कोरोना खोपको प्रभावकारिता ५०।४ प्रतिशतमात्रै देखिएको थियो।

सिनोफार्म कम्पनीले बनाएका दुई भ्याक्सिनको प्रभावकारिता ७९।४ र ७२।५ प्रतिशत रहेको चिनियाँ अधिकारीहरूले दाबी गरेका थिए।

गत महिना संयुक्त अरब इमिरेट्समा केही मानिसहरूलाई सिनोफार्म कम्पनीले बनाएको खोपको तेस्रो डोज लगाउन भनिएको थियो। उक्त खोपको दुई डोज लगाउँदा पनि उनीहरूको शरिरमा पर्याप्त एन्टिबडी नभेटिएपछि तेस्रो डोज लगाउन भनिएको हो।

चीनमा चार वटा कम्पनीहरूले कोरोनाभाइरसविरूद्धका खोप बनाएका छन्। बेइजिङले अहिलेसम्म विदेशी कम्पनीले बनाएका खोपलाई आफ्नो देशमा प्रयोग अनुमति दिएको छैन।


स्वदेशमा उत्पादित खोप अहिलेसम्म १६ करोड बढी चिनियाँहरूले लगाइसकेका छन्।

चीनले संसारका विभिन्न मुलुकमा लाखौं डोज खोप निर्यात गरिरहेको छ। कतिपय देशलाई उसले आफ्नो देशमा उत्पादित खोप अनुदानमा पनि दिइरहेको छ।

नेपाललाई चीनले ८ लाख डोज खोप अनुदानमा दिएको छ। जुन अहिले लगाउने क्रम जारी छ। एजेन्सी ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board