झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रसिसिएमसी ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आतिथ्यमा बसेको विशेष बैठकले सङ्क्रामक रोग ऐन २०२० का प्रावधानले मात्र अहिलेको महामारी रोक्न नसक्ने भएकाले आवश्यक तयारी गर्न मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन दिएको हो ।

बैठकले अत्यावश्यकीय सामग्री खास गरी अक्सिजन प्लान्ट र खोपलगायत स्वास्थ्य सामग्रीको तत्काल आपूर्तिका लागि सम्बन्धित निकायलाई अझ तदारुकताका साथ काम गर्न निर्देशन गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । खोप र अक्सिजनको तत्काल व्यवस्थान गर्न विद्यमान कानूनी अड्चन र बाधा हटाउँदै अघि बढ्ने पनि निर्णय गरिएको छ । अक्सिजन नपाएर मानिसको ज्यानै जाने अवस्था अन्त्यका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताउँदै बैठकपछि मन्त्री ज्ञवालीले भने, “तयारीका आधारमा रोगको प्रकृति र आक्रामकता दुवै उच्च भएकाले गएका दुई हप्ता हाम्रा लागि निकै कठिन रह्यो, अब त्यो कठिनाइ विस्तारै कम हुँदै जान्छ भन्ने विश्वास गरिएको छ ।”

बैठकले वर्तमान महामारी धान्न अक्सिजन उत्पादन कमी भएकाले देशभित्रका उद्योगलाई पूर्ण क्षमतामा चलाउन उद्योगीलाई प्रोत्साहन गर्ने तथा भारतबाट थप लिक्विड अक्सिजन प्राप्त गर्न निरन्तर कूटनीतिक प्रयास र आग्रह गरिने निर्णय गरेको छ । बैठकले झञ्झटिलो प्रक्रिया हटाउनका लागि कानूनी प्रबन्ध तथा खोपलगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्न र ऐनमा थप सुधार गर्न आवश्यक देखिएको निष्कर्ष निकालेको बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board