दासढुङ्गा घटनाको यथार्थ पत्ता लागोस्, जबजबाट भाग्ने छुट छैन – नेता नेपाल

काठमाडौं, ३ जेठ । आज जेठ ३ गते, २७ औं मदन–आश्रित स्मृति दिवस , नेकपा एमालेका नेता माधवकुमार नेपालले दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन आग्रह गरेका छन् । “जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ ।

त्यसैले दासढुंङ्घा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु । यतिबेला हामी नेकपा (एमाले)को आन्तरिक जीवनमा असाध्यै संगीन परिस्थितिको सामना गरिरहेका छौं,” उनले विज्ञप्तिमा भनेका छन्। उनले जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको मियो, सिद्धान्तकार, विचारक, व्याख्याता र एक दुरदृष्टियुक्त नेता भएको स्मरण पनि गरे । यस्तै आश्रितले नेकपा (एमाले)को संगठन विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गरेको, पार्टीको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप संगठन निर्माणमा उनले खेलेको भूमिका अतुलनीय रहेका पनि बताए । नेता नेपालले यतिबेला भण्डारी र आश्रितले परिकल्पना गरेको सुन्दर, शान्त, समृद्ध, सामाजिक न्याय र समानतायुक्त नेपालको सपना साकार पार्नका लागि हामी प्रतिबद्ध हुनपर्ने समय आएको पनि उल्लेख गरेका छन्। आफूहरु सामू प्रश्न खडा भएको पनि उनको भनाइ छ ।

“यो बेला हामी माथि प्रश्न छ, ‘के हामी जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक–आर्थिक रूपान्तरण, राष्ट्रिय पूँजीको विकास र समाजवादमा पुग्ने हाम्रो सपना र प्रतिबद्धता अनुरुप अघि बढी रहेका छौँ ?’ हामी माथि प्रश्न छ, ‘जनताको बहुदलीय जनवादले आफ्नो कार्यक्रममा १४ विशेषताको रुपमा अघि सारेको लोकतान्त्रिकरणको मूल्य– मान्यतालाई स्वंयम् हामीले आत्मसात गरीरहेका छौँ ?’ अहिले कमरेड मदन भण्डारी र जीवराज आश्रितले परिकल्पना गरेको सुन्दर, शान्त, समृद्ध, सामाजिक न्याय र समानतायुक्त नेपालको सपना साकार पार्नका लागि हामी प्रतिबद्ध हुनपर्ने समय आएको छ । नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने वा विचलित हुने छुट हामी कसैलाई छैन,“ विज्ञप्तिमा उल्लेख छ ।

उनले यी तमाम दायित्व पूरा गर्नका लागि हाल एकताबद्ध, सुसंगठित, अनुशासित, राष्ट्र, जनता र परिवर्तनप्रति प्रतिवद्ध, पार्टी र आन्दोलन पहिलो शर्त भएको पनि बताएका छन् । उनले एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै उनीहरुले देखेको सपना साकार पार्न सकिने उल्लेख गरेकाछन् । फेरि एक पटक सबै खालका अहंकार, गुटगत र पार्टी एकताविरोधी पवृत्तिलाई निरुत्साहित गर्दै देश, जनता र पार्टीप्रति जिम्मेवार भएर क्रान्तिलाई अघि लैजाने सके मात्रै उनीहरुप्रति सम्मान हुने उनको भनाइ छ । देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तिहरुलाई सच्चाएर मदन– आश्रीतले देखाएको बाटोमा हिड्ने प्रण गर्न पनि अपील समेत गरेका छन्। त्यस्तै कोरोना महामारीविरुद्ध जारी स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्दै संक्रमणको रोकथाम र नियन्त्रणका लागि स्वयंसेवकीय भूमिका निर्वाह गर्न सिंगो पार्टी पंक्तिसहित आम जनसमुदायलाई आग्रह समेत गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board