सर्वोच्च जाने विपक्षी गठबन्धनको तयारी, सांसदहरूलाई नागरिकतासहित बोलाइयो

काठमाडौं, ९ जेठ । संसद विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धनका नेताहरु आज सर्वोच्च अदालत जाने तयारी गरेका छन् । त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् । आज तयारी सकिए आजै, नभए भोलि सर्वोच्च जाने उनीहरुको तयारी छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने तयारी भइरहेको बताए । ‘तयारी पूरा हुनासाथ हामी सर्वोच्च जान्छौं,’ उनले भने । नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले पनि सकेसम्म आजै सर्वोच्च अदालत जाने तयारीमा आफूहरु रहेको बताइन् । शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दूर्गा पौडेलको संयुक्त बैठकले संसद विघटनको कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनका बहुमत सांसदहरुको समर्थन रहेको दाबीसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board