अमेरिकाले एसियाका १६ देशलाई ७ मिलियन डोज भ्याक्सिन दिने : प्रधानमन्त्री ओलीबाट राष्ट्रपति बाइडेनलाई धन्यवाद


काठमाडौं, २० जेठ ।   अमेरिकाले नेपालसहित दक्षिण र दक्षिणपूर्वी एसियाका १६ देशलाई ७ मिलियन डोज भ्याक्सिन उपलब्ध गराउने भएको छ । नेपालसहित भारत, बंगालादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेशिया, थाइल्याण्ड, लाओस, पपुवा न्युगिनी, ताइवान र प्यासिफिक आइल्याण्डलाई झण्डै ७ मिलियन डोज भ्याक्सिन दिने घोषणा गरेको हो ।

अमेरिकाले विश्वमा प्रदान गर्ने घोषणा गरेको ८० मिलियन डोज भ्याक्सिनमध्ये आज बाइडेन प्रशासनले २५ मिलियन डोज भ्याक्सिन वितरणको फ्रेमवर्क तयार पारेको हो । २५ मिलियन डोजमध्ये १९ मिलियन डोज कोभ्याक्समार्फत दक्षिण र मध्य अमेरिका, ७ मिलियन एसिया एवं ५ मिलियन अफ्रिकाका देशहरुमा प्रदान गरिने भएको छ । ६ मिलियन डोज क्षेत्रीय प्राथमकिताका आधारमा प्रदान गरिनेछ । अमेरिकाले नेपाललाई कति डोज भ्याक्सिन र कुन भ्याक्सिन दिने भन्ने फ्रेमवर्कमा उल्लेख गरेको छैन । तर अमेरिकाले ६० मिलियन डोज आष्ट्राजेनेका भ्याक्सिन विश्व समुदायलाई प्रदान गर्ने घोषणा गरेकाले नेपालले पनि सोही भ्याक्सिन पाउने सम्भावना रहेको छ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले खोप सहायता अनुरोध गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र पठाउनु भएको थियो ।

नेपाललाई कोरोनाविरुद्धको खोप आपूर्तिका लागि विशेष पहल गर्न अनुरोध गर्दै राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति बाइडेनलाई पठाएको पत्र नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका बरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई बुझाउनुभएको थियो । भेटमा राजदूत खतिवडाले मासिंगालाई नेपालमा भाइरस महामारीको अवस्था र खोप अभियानबारे अवगत गराउनु भएको थियो । खतिवडाले अमेरिकी सहयोगमा विश्वका विभिन्न मुलुकले सुविधाका रूपमा पाउने एस्ट्राजेनेकाको खोपमा पनि सहजीकरण गरिदिन अनुरोध गनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उपलब्ध गराउने घोषणा गरेको भन्दै अमेरिकालाई धन्यवाद दिनु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board