‘स्मार्ट लक डाउन’मा जाने सीसीएमसीको निर्णय

काठमाडौं, ३ असार ।  कोभिड-१९ व्यवस्थापन निर्देशक समिति(सीसीएमसी)को दोस्रो बैठकले सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ ।

अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको हो ।

प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधवार बालुवाटारमा बसेको बैठकले कतार, साउदी अरेबिया, जापान,मलेसिया लगायतका मुलुकमा पुनः हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । यी देशहरूबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी हवाई उडान सुचारु हुनेछ ।

बैठकमा प्रधानमन्त्री एवं निर्देशक समितिका प्रमुख केपी शर्मा ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै संक्रणको जोखिम नहुँदासम्म लकडाउनलाई खुकुलो बनाउनुपर्ने बताएका थिए

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटेलमा क्वारेनटाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेनटाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने समेत निर्णय गरेको छ ।

यसैगरी गैर आवासीय नेपालीहरू बाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरूप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई आक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका छन् ।

कोभिड नियन्त्रणका लागि सबै भन्दा महत्त्वपूर्ण र अनिवार्य तत्त्व खोप नै भएको उल्लेख गर्दै उनले त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भई रहेको आगामी साउनदेखि लगाउन थालिने बताए । त्यसबाहेक अन्य देशसँग पहल प्रयत्न भइरहेकोले खोपको अभाव क्रमशः हल हुँदै जाने उनले बताए ।

कोभिड १९ कुनै एक निकायको मात्र जिम्मेवारी नभएको बताउँदै प्रधानमन्त्रीले सबै मन्त्रालय र निकायले समन्वयात्मक ढङ्गले काम गर्न पनि निर्देशन दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board