फेरि थुनियो मस्र्याङ्दी नदी, चामेबजार जाने ठूलो पुल जोखिममा

मनाङ । चामेमा मस्र्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले बताए । थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको छ । नदी थुनिएपछि पुल नजीकै रहेको एक विद्यालय पनि जोखिम परेको छ । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षापछि नदीमा पानीको बहाव बढेको हो ।

गत शनिबार पनि चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो । नदी थुनिएपछि सशस्त्र प्रहरी बल नं ३२ गुल्म र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको थियो । प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामे बजार थप जोखिममा पारेको छ । सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उनले बताए । लगातारको वर्षातले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताए । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board