प्रतिनिधि सभा विघटनविरूद्ध विपक्षी गठबन्धन सडक संघर्षमा जाने 

काठमाडौं,१० साउन । प्रतिनिधि सभा विघटनविरूद्ध विपक्षी गठबन्धनले सडक संघर्ष गर्ने तयारी गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार भएको बैठकले सडक संघर्षमा जानुपर्ने निष्कर्ष निकालेको छ।

नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरूङले कोरोना संक्रमण कम भइरहेको र बाढीपहिरो पनि रोकिएको अवस्था रहेकोले अब सडक संघर्षमा जाने विषयमा छलफल भएको बताए।उनकाअनुसार लोकतन्त्र रक्षाका लागि सडक संघर्षमा जानुपरेको छ।

संघर्षका कार्यक्रम बनाउनका लागि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा एमालेका नेता भीम रावल, नेकपा माओवादी केन्द्रका नेता देव गुरूङ र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेको कार्यदल नै बनाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै विपक्षी गठबन्धनले राजनीतिक र कानुनी लडाइँ साथसाथै अगाडि लैजाने बताएका छन्। प्रतिनिधि सभा विघटनविरूद्धका रिटमा सर्वोच्चमा सुनुवाइ भइरहेको छ।

लोकतन्त्रका पक्षमा जनमत निर्माण गर्नका लागि सडक संघर्ष गर्नेजस्ता कार्यक्रम हुनु स्वभाविक हुने पनि नेत गुरूङ बताउँछन्। गठबन्धनका दलहरूबीच छलफल गर्दै अगाडि बढ्नुपर्ने भएकोले कार्यदल बनेको पनि उनको भनाइ थियो।

‘अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा तथा प्रतिनिधि सभाको रक्षाका लागि सडक संघर्ष नै गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘कोरोना कम हुँदै गइरहेको अवस्थामा छलफल गरेर संघर्षका कार्यक्रम ल्याउने हो।’
निषेधाज्ञाले गर्दा जनता सडकमा आउन नमिलेको पनि उनले बताए। ‘निषेधाज्ञा खुल्यो भने अलिअलि कार्यक्रम हुँदै जान्छ,’ उनले भने। साथै विपक्षी गठबन्धनले जनपरिचालन गर्ने पनि निर्णय गरेको छ।

सरकारविरूद्ध ५ विद्यार्थी संगठन सडकमा

सरकारविरूद्ध ५ विद्यार्थी संगठन आन्दोलनमा उत्रने भएका छन्। सरकारले असंवैधानिक काम गरेको भन्दै उनीहरू संयुक्त रूपमा आन्दोलनमा उत्रन लागेका हुन्।

आज अपरान्ह ३ बजे प्रदर्शनी मार्गमा विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्न लागेका छन्। काठमाडौंबाहिर पनि विरोधका कार्यक्रम रहेको नेविसंघ महामन्त्री दीपक भट्टराईले बताए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board