राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा गत असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको जानकारी दिइएको छ ।

गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो । संवैधानिक परिषदले सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ समिति क्रियाशील नभएको भन्दै उनीहरुको सिधै नियुक्ति भएको हो । गत पुस ५ गते पहिलो पटक प्रतिनिधि सभा विघटन गरेको सरकारले संसदप्रति सरकार प्रतिवद्ध छ भन्ने देखाउनका लागि पुस १७ गते बैठक बोलाए पनि बिजनेस नदिई ९ दिनपछि बन्द गरेको थियो । संवैधानिक व्यवस्थाअनुसार पहिलो अधिवेशन अन्त्य गरेको ६ महिनाभित्र संसदको अर्को अधिवेशन बोलाउनुपर्ने प्रावधान अनुसार सरकारले राष्ट्रिय सभाको बैठक आह्वान गरेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board