जुलाइमा हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई २०२१ का लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका स्वीकृत गरेको छ ।

यसअनुसार प्रतिसाता कुल २१ अन्तर्राष्ट्रिय उडान हुने छन् । यो तालिका पछिल्लो पटक मन्त्रिपरिषद्ले दिएको स्वीकृतिका आधारमा तय गरिएको हो । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खोलेको छ । कोरिया र चीनबाट भने अझै वायुसेवा कम्पनीले उडानको अनुमति मागेका छैनन् । अन्य गन्तब्यमा भने सातामा कुल २१ उडानको अनुमति दिइएको छ । अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुबै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन् । नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ ।

कोरिया, टर्की, कुवेत र ओमान नेपाली वायुसेवा कम्पनी नजाने गन्तब्य हुन् ।नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली, कतारको दोहा, युएईको दुबई, मलेसियाको क्वालालाम्पुर र जापानको नारितामा उडान गर्नेछ । अर्को नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाम, युएईको दुबई र मलेसियाको क्वालालाम्पुरमा उडान अनुमति पाएको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान अनुमति पाउनेमा कतार एयरवेज, सलाम एयर, एयर इन्डिया, फ्लाइ दुबई, जजिरा एयरवेज, टर्किस एयर र मालिन्दो एयर रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board