राष्ट्रपति र प्रधानमन्त्री मिलेर देशलाई प्रतिगमनको दिशामा धकेल्नुभयो : नेता श्रेष्ठ

काठमाडौं, २१ असार । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको सहयोगमा एकपछि अर्को प्रतिगामी कदम चालेको बताएका छन् ।

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै श्रेष्ठले राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई प्रतिगमनको दिशामा धकेलेका कारण अहिले प्रतिगमन र अग्रगमनको द्वन्द्व संघर्षबीचबाट देश गुज्रिराखेको बताए ।

प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक राजनीतिमा विदेशी हस्तक्षेप निम्त्याएको आरोप पनि श्रेष्ठले लगाएका छन् । विदेशीसँग मिलेमतोमा प्रधानमन्त्रीले संविधानमाथि प्रहार गरेको श्रेष्ठको दाबी छ ।

‘विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिहनुभएको छ,’ श्रेष्ठले भने, ‘उहाँले राष्ट्रिय स्वाधिनतामा गम्भीर धोकाधडी गर्नुभयो ।’

अहिले प्रतिगमन पूर्णरुपमा परास्त नभएको भन्दै श्रेष्ठले हरहालतमा परास्त गर्ने दाबी गरे । ‘हामीले एकपटक प्रतिनिधिसभा विघटनको कदमलाई असफल बनायौं । तर प्रतिगामी कदम पूर्णरुपमा असफल हुन सकेन । अहिले पनि प्रतिगामी कदम फेरी प्रतिनिधिसभा विघटन–२ अन्तर्गत चालिएको छ । र, हामीले त्यसलाई पूरा परास्त गर्न सकेका छैनौं,’ श्रेष्ठले भने, ‘अर्कोतिर प्रतिगमन पनि आफ्नो योजना अनुसार सम्पूर्ण संविधान र लोकतन्त्रलाई समाप्त गरेर प्रतिगामी निरंकुश राजनीतिक प्रणाली स्थापित गर्ने उत्कर्ष विन्दुमा पुगिसकेको छैन । म चेतावनी दिन चाहन्छु, त्यो कहिले पुग्नेपनि छैन । त्यस्तो सपना कसैले नदेखेपनि हुन्छ ।’

तर, प्रतिगमन र निरंकुशताको छिटा राष्ट्रिय सभाभित्र पनि आउन थालेको भन्दै श्रेष्ठले आफूलाई बोल्न २० मिनेट समय हुँदाहुँदै राष्ट्रिय सभा अध्यक्षले समय घटाएको भन्दै आपत्ति जनाए । ‘यही सदनमा मैले आघा घण्टा बोलेको छु । तर आज २० मिनेट समय हुँदाहुँदै नदिएर घटाइयो । राष्ट्रिय सभामा भएका पार्टीहरुबीच सहमति गर्नुपर्दैन रु परम्परा हेर्नुपर्दैन । यहाँ कुण्ठित गर्ने दिशातिर गइराखेको छ,’ श्रेष्ठले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board