विपक्षी गठबन्धन विद्यार्थी संगठनद्धारा शंख फुकेर इन्धनको मूल्‍यवृद्धिको विरोध प्रदर्शन

काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा आइतबार शंख फुकेर विरोध प्रदर्शन गरेका छन् ।

आइतबार माइतीघरमा भेला भई विद्यार्थी नेता कार्यकर्ताहरुले शंख फुकेर विरोध जनाएका हुन् । विद्यार्थी संगठनहरुले मूल्यवृद्धिविरुद्ध चरणवद्ध आन्दोलन घोषणा गरेका छन् । असार २८ गते नेपाल आयल निगमका गाडीहरु चल्‍न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोलपम्प र ट्‍यांकर सञ्‍चालन गर्न नदिने तथा असार ३० गते देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्‍यांकर बन्‍द गर्ने उनीहरुको कार्यक्रम छ ।

त्यस्तै संयुक्त विद्यार्थी संगठनहरुले एसइइ तथा कक्षा ११ र १२ को परीक्षामा देखिएका समस्या समाधानमा राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएको छ । त्रिभुवन विश्वविद्यालयले लिनुपर्ने सबै परिक्षाहरु, एमफील र पीएचडीको समस्या तथा नयाँ विषयका निजीकरण समस्याका बारेमा विद्यार्थी संगठनहरुको संयुक्त डेलिगेसनमा राखेका माग पुरा नभएमा उपकुलपति र विश्वविद्यालयका विरुद्धमा थप संघर्ष गर्ने बताइएको छ । हिमालयन इन्स्युरेन्सलाई लाइसेन्स दिदाँ एक अर्ब भन्दा बढीको अवैध चलखेल भएकाले छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको छानविन गरी कारबाही प्रक्रिया अगाडी बढाउन पनि विद्यार्थी संगठनले माग गरेको अध्यक्ष तामाङले जानकारी दिए । त्यस्तै नेपाल वायु सेवा निगमलाई निजीकरण गरेर समाप्त पार्ने खेलमा लागिएको भन्दै मन्त्रालयका कर्मचारी र महाप्रवन्धकलाई वर्खास्त गर्नुपर्ने मागसहित कर्मचारीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ भने धरानस्थित वीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिले भ्रष्टाचार गरेको भन्दै उपकूलपति ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्नुपर्ने माग गरिएको पनि अखिल(क्रान्तिकारी)का अध्यक्ष तामाङले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल विद्याथी संघका अध्यक्ष राजिव ढुंगानाले विद्यार्थी संगठनहरुको ७२ घण्टे अल्टिमेटमलाई वास्ता नगरेको र छलफलको प्रयत्न समेत नगरेका कारण आन्दोलनको थप कार्यक्रम घोषणा गर्नुपरेको बताए । उनले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न र आगामी दिनमा मूल्यवृद्धि नहुने कुराको प्रत्याभुति गराउन पनि माग गरे । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थीहरुले शान्तिपूर्ण ढंगले विरोधका कार्यक्रम गर्दापनि प्रहरीको बर्बर दमन भएको उल्लेख गरे । उनले विद्यार्थीहरुले जायज माग राख्दापनि राज्यले वक्रदृष्टि राखेको बताए । उनले सरकारको लगानी भएका संस्थानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बाङ्गो बाटोबाट नियुक्त गरेका कर्मचारीहरुले लुटिरहेको टिप्पणी गरे । आयल निगमलाई निर्णायक ढंगले सडक आन्दोलनबाट जवाफ दिने पनि उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board