सन् २००१ सेप्टेम्बर ११ का दिन अमेरिकामा आतंकवादी आक्रमण गराउने अल–कायदाका योजनाकार ओसामा बिन लादेनको सन् २०११ मे २ का दिन पाकिस्तानको जलालाबादस्थित ऐबटाबादमा अमेरिकी नौसेनाको कमाण्डोको कारवाहीमा मृत्यु भएको थियो। लादेनमाथि कमाण्डोका कसले गोलीहान्यो भनेर अमेरिकाले हालसम्म आधिकारीक जानकारी दिएको छैन। यद्यपी नेभी सिल अफिसर रोबर्ट ओ निलले एक पुस्तकमा आफूले लादेनमाथि गोली प्रहार गर्दा उनको मृत्यु भएको दाबी गरेका छन्।
नेभी सिलको चार सयभन्दा बढी मिसनमा सहभागी रोबर्टले आफ्नो किताब ‘द अपरेटर’मा महत्वपूर्ण घटनाहरुको जानकारी दिएका छन्। जसमा उनले ओसामामाथि गोली प्रहार गरेको पनि दाबी गरेका छन्। रोवर्टले सन् २०१७ मा बीबीसीको कार्यक्रम ‘आउटलुक’मा लादेनविरद्धको अभियानको बारेमा खुलेर चर्चा गरेका थिए।
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आक्रमण हुँदा तपाइँ कहाँ हुनुहुन्थ्यो ?
सन् २००१ मा जब वर्ल्ड ट्रेड टावरमा आतंकवादी आक्रमण भएको थियो तब म जर्मनीमा तैनाथ एक विशेष अमेरिकी युनिटको सदस्य थिए र जर्मन स्पेसल फोर्ससँग ट्रेनिङ गरिरहेको थिए। जब आक्रमणको खबर मैले सुनेँ म इमेल टाइप गरिरहेको थिए। हवाई आक्रमणको विषमया टेलिभिजनमा हेरेँ। केही समयपछि नै ओसामा बिन लादेन यो आक्रमणमा सहभागी रैछन् भन्ने थाहा भयो। मलाईं अब अमेरिका र अल–कायदाबीच युद्ध हुन्छ भन्ने लागिसकेको थियो।
त्यसको १० वर्षपछि म विश्वको सबैभन्दा ठूलो अभियानमा आवद्ध भए जसमा लादेनको मृत्यु भयो। यो अभियानमा देशका अलग–अलग हिस्साबाट सेनाको चयन भएको थियो। हामीलाई यो अभियानबारे कसैलाई बताउन अनुमति थिएन। अभियान सफल हुन्छ भन्नेमा हामीलाई विश्वास थियो तर अभियान सकेर फर्किन्छौं जस्तो लागेको थिएन। यद्यपी मैले मिसनमा जाने निधो गरेँ।
फर्केर आइँदैन भन्ने सोच आउनुको कारण ?
यस्तो सोच आउनुको कारण पाकिस्तान थियो जोसँग आधुनिक वायु रक्षा प्रणाली, राम्रो राडार, राम्रो सेना र हाम्रो हेलिकप्टर उडाउनसक्ने क्षमता थियो। यदी हाम्रो हेलिकप्टरको इन्धन सकिएको भए हामी पाकिस्तानको भूमिमा हुने थियौं जसका कारण हामी सफल हुने अवस्था आउँदैन थियो। यही कारण हाम्रो मृत्यु हुन्छ भन्ने हामीलाई लागेको थियो। तर हामीले चुनौती स्वीकार्यौं।
अभियान जान पूर्व कति लामो प्रशिक्षण गर्नुभयो, कस्तो सोच आउँथ्यो ?
प्रशिक्षणको विषय विस्तृत छ, तर हामीले हाम्रो सैन्य जीवनमा धेरै त्यस्ता प्रशिक्षण गर्यौं। मिसनका दौरान जब हामी टिमका सदस्यबीच कुरा गथ्यौंं तब हामी ‘गुड नाइट’ नभएर ‘गुड बाई’ भनेर सुत्थ्यौं, के थाहा भोली बाँचिन्छ या मरिन्छ। जब म परिवारको साथमा रेस्टुरेन्ट गएको थिए मैले छोरी खेलिरहेको देखें र सोचे सायद मैले छोरी अन्तिमपटक खेलेको देखिरहेको छु। हामीले परिवारलाई पनि यो मिसनको बारेमा भन्न सक्दैनथ्यौं।
२ मे २०११ मा पाकिस्तानको ऐबटाबादमा के भयो यो बारेमा धेरै भनिसकिएको छ। धेरै किसिमका भनाइ आएका छन्। तर आधिकारीक बयान आएको छैन। त्यो अभियानमा के भएको थियो ? तपाइँ त्यहाँ पुग्दा के भयो ?
हामी अफगानिस्तानमा थियौं, हामीलाई अत्यन्त जरुरी मिसनमा जानुपर्छ भन्ने सूचना आयो। हामीले आफ्नो परिवारलाई फोन गर्यौ र अभियानका लागि निस्क्यौं। हामी दुई हेलिकप्टरमा जानेछौं भनेर जानकारी भयो। हाम्रो पछाडि अन्य दुई हेलिकप्टर र त्यसको पछाडि पनि दुई अन्य हेलिकप्टर ब्याकअपका लागि थिए।
त्यसको अर्कोदिन २ मे २०११ मा हामी सैन्यबेसबाट उड्यौं। सीमा हुँदै एउटा नदी कटेपछि बाँया तिर लाग्यौं, फेरि दाहिने उड्यौं, हामी पाकिस्तानको सीमामा थियौं। पाइलटले हामीलाई हामी पाकिस्तानमा रहेको बताए। लक्षित क्षेत्र पुग्न ९० मिनेट लाग्ने भनियो। हामी मुख्य अभियानमा संलग्न थियौं। हाम्रो दुई हेलिकप्टर पछाडिको हेलिकप्टरले इन्धन भर्ने काम गर्थ्यो। त्यो ९० मिनेट हामीले एक अर्कालाई हेराहेर गरेका थियौं। कोही आईप्याडमा हेर्थे त कोही निदाएका थिए।
९० मिनेटटपछि हामी त्यो आधुनिक शहरमा थियौं जहाँ रिसोर्ट र गल्फ खेल्ने ठाउँ थियो। पाइलटले हामीलाई एउटा छतमा उतारे। हामीले उत्रिने बित्तिकै एउटा ढोका बमले उडान खोज्यौं तर त्यो नक्कली ढोका रहेछ। हामीले अर्को ढोका बमले पड्काउन खोज्यौ तर हामी ढोका उघारेर भित्र छिर्यौ। हामी अब ओसामा बिन लादेन बस्ने ठाउँमा थियौं। मैले हाम्रा टिमका सदस्यले महिला र बालबालिकालाई एकै ठाउँमा राख्दै गरेको देखें। कुनै पनि समय बम पड्किनसक्छ र हाम्रो मृत्यु हुनसक्छ भनेर सजग थियौं तर हामी मिसनमा केन्द्रित भयौं।
त्यसपछि के भयो ?
हामीलाई कुनै महिलाले यो भनेकी ओसामा बिन लादेन अर्को कोठामा छन् तर त्यहाँ उसको सुरक्षाको लागि उसका छोरा छन्। मेरा साथीहरु कोही दायाँ कोही बायाँ बाटो खुला गर्दै हिँडे। मेरो अगाडि मेरा नेभी सिल कमाण्डो साथीहरु थिए।
म उनीहरुको पछाडि थिए। केहीबेरमै हामी लादेनको कोठा पुग्यौं। त्यहाँ केही मानिस थिए। उनीहरुले पर्दा हटाए, नजिकै दाहिने पट्टी ओसामा बिन लादेन कम्मरमा हात राखेर उभिएका थिए।
हामी यो अनुमान गर्छ सक्छौं कि सबै कुरा नाटकीय रुपमा अगाडि बढ्यो, तपाइँले कति गोली चलाउनु भयो?
मैले ओसामा बिन लादेनमाथि तीन गोली चलाएँ। लादेन उभिएको बेलामा दुई गोली चलाए र तेस्रो जब उनी भुइँमा लडेका थिए। नजिकै लादेनकी श्रीमती र उनको छोरा थिए। मैले दुवैलाई खाटमा लडाइदिए। तबसम्म मेरा साथीहरु त्यहाँ आइसकेका थिए। मैले उनीहरुलाई अब के गर्ने भनेर सोधे। उनीहरु हाँस्न थालेका थिए। त्यसपछि हामीले कोठा र अन्य क्षेत्रको तलासी गर्यौ र त्यहाँ भएका हार्ड ड्राइभ र अन्य विद्युतीय सामग्री उठायौं।
हाम्रा तीन साथी ओसामाको लाश लिएर बाहिर आए। क्याप्टेन फिलिप त्यहीँ थिए। त्यसपछि त्यहाँबाट जान हामीले टिमका सदस्य बोलाउन थाल्यौं। यो अभियानको दौरान मेरा अगाडि हिँड्ने सैनिक दोस्रो समूहका थिए। उनीहरुले ओसामालाई कसले गोली चलायो भनेर सोध्न थाले। मैले चलाए भनेर जवाफ दिएपछि उनीहरुले मेरो परिवारको तर्फबाट तपाइँलाई धन्यवाद भने।
एबटाबादमा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो, कसरी बाहिर निस्कनु भयो ?
हाम्रो साथमा केही ठूलो हेलिकप्टर थिए जो हामीभन्दा ४५ मिनेट पछाडि त्यहाँ पुगेका थिए। तीमध्ये एक हेलिकप्टरलाई हामीले बोलाएका थियौं। जुन ग्रुपको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो तिनीहरु हामीले बोलाएको हेलिकप्टरमा बसे। दोस्रो आफ्नो पहिलेकै हेलिकप्टरमा त्यहाँबाट निस्किए। हामीले ओसामा बिन लादेनको डीएनएको नमूना बोेकेका थियौं भने अर्को हेलिकप्टरले लाश।
हामी अफगानिस्तानको सीमातर्फ लाग्यौं। हामीलाई थाहा थियो कि ९० मिनेट लगातार हेलिकप्टर उडे हामी सुरक्षित रुपमा निस्कन सक्छौं। हामीले घडीमा स्टपवाच अन गरेर त्यसलाई हेरिरहेका थियौं। सबै चुप थिए, कोही बोलेका थिएनन्। केही समयपछि पाइलटले अफगानिस्तानको सीमामा पुगेको खबर गरेपछि हामी ढुक्क भयौं।
अफगानिस्तान पुगेपछि के भयो?
त्यहाँ पुगेपछि हामीलाई ओसामा बिन लादेनको लम्बाई लिन भनियो। राष्ट्रपति बाराक ओबामाले यस्तो निर्देशन दिएको हामीलाई जानकारी आयो। हामीसँग लम्बाई नाप्ने टेप थिएन जसका कारण हामीले एक स्नाइपर बन्दुकले नाप लिएका थियौं। त्यसपछि लादेनको शरीर अर्को सैन्य बेस लगियो र हामीले जे एबटाबादबाट ल्याएका थियौं त्यसलाई एफबीआई टिमले अनुसन्धानको लागि लग्यो।
त्यसपछि ओसामा बिन लादेनको शरीर अमेरिकी नौसेनको जहाजमा राखेर अरब सागरतर्फ लगेको देखियो। त्यसलगत्तै मलाई फोन आउन थाल्यो। भर्जिनिया, सेन्ट डिएगो र वासिंटनबाट फोन आयो। मेरो एक साथी ह्वाइट हाउसमा काम गर्थे। उनलाई कसैले मैले लादेन मारेको खबर दिएछन्। कमाण्डोको रूपमा हामी यस्ता चीजहरुमा यति अभ्यस्त छौं कि मलाई यो एकदम सामान्य लागेको थियो। ओसामा बिन लादेन मारेकोमा मेरो परिवार र मेरा साथीहरुलाई ममाथि धेरै गर्व लागेको थियो जुन स्वाभाविक थियो।
COMMENTS