काठमाडौं, ४ मंसिर । पशुपतिको वनकाली क्षेत्रमा नवनिर्मित आध्यात्मिक बगैंचामा चहलपहल बढ्दो छ । विगतमा लागु औषध पदार्थ सेवन गर्ने दुव्र्यसनीहरुको अखडाको रुपमा रहेको सो क्षेत्र हाल एक रमणीय, मनोरम एवम् धार्मिक पर्यावरणको स्थलको रुपमा परिणत भएसँगै यस क्षेत्रमा धार्मिक कार्यक्रमहरु हुन थालेका हो ।
पशुपति क्षेत्र विकास कोषसँग शुभेच्छुक संघ, संस्थाहरुको आर्थिक तथा सामाजिक पहलमा सो बगैंचा निर्माण भएको सरोकारवाला बताउँछन् । पशुपतीको वनकाली क्षेत्रमा नवनिर्मित मनोरम सुन्दर बगैंचामा अध्यात्मिक चहलपहल बढ्दो छ । विगतमा लागु पदार्थ सेवन गर्ने दुव्र्यसनीहरुको अखडा बनिसकेको यस धार्मिक स्थलमा आपराधिक गतिविधिका कारण स्थानीय प्रशासनमा उजुरीहरु समेत परिरहन्थे । तर, धार्मिक गुरुहरुको सल्लाह एवम् पशुपति क्षेत्र विकास कोषसँग शुभेच्छुक संस्था र व्यक्तिहरुको सहकार्यमा हाल यो क्षेत्र एक मनोरम पर्यावरणसहितको धार्मिक बगैंचाको रुपमा निर्माण भएको छ । भर्खरै छिमेकी मुलुक भारतबाट आएका जगत गुरु कृपालु जी महाराजले शुक्रबार यस क्षेत्रमा प्रवचन दिए । यो क्रम शनिबार पनि चल्ने जनाइएको छ । भक्तजनहरुको व्यक्तिगत आर्थिक सहयोगबाट प्राप्त रकम संकलन गरी यो आध्यात्मिक बगैंचा निर्माण भएको हो ।
राजनीतिक तथा उच्च तहमा रहेका व्यक्तित्वहरुमा धार्मिक आस्था र नैतिकता गुम्दै गएका कारण आज देश यो अवस्थामा पुगेको आध्यात्मिक बगैंचा निर्माणमा सहभागी एक पूर्व न्यायधीश बाबुराम रेग्मी बताउँछन् । न्याय जगत् लगायत सबै क्षेत्रमा आध्यात्मिक ज्ञान जगाउन आवश्यक रहेको उनको भनाई छ । यसरी देशका सबै क्षेत्रमा निराशा पैदा भएको बेला मनको शान्तीका लागि पूर्व प्रशासकहरु धार्मिक क्षेत्रमा पनि आबद्ध भएका छन् । तथापि, विकसित राष्ट्रहरुमा धर्मलाई उच्च महत्व दिइने भए पनि नेपाल जस्तो विकासशील राष्ट्रमा यसलाई साम्प्रदायिकता र संकीर्ण सोचबाट हेरिनु दुर्भाग्यको विषय रहेको उनीहरुको भनाई छ ।
अतः आध्यात्मिक बगैंचा जस्तै पशुपती क्षेत्र विकास कोषले अन्य क्षेत्र पनि मनोरम र लोभलाग्दो बनाउनुका साथै बागमती सफाईमा पनि उत्तिकै ध्यान दिनुपर्ने सुझाव उनीहरुको छ । यसो हुन सके, विश्व सम्पदा सूचीमा रहेको पशुपती क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्व झनै बढ्ने देखिन्छ ।
भिडियो
COMMENTS